मुगु —चार दिनदेखि लगातार परेको भारी वर्षाका कारण मुगु सोरु गाउँपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयको पर्खाल भत्किएको छ। विद्यालयको अगाडिको भागमा निर्माण गरिएको पर्खाल वर्षाका कारण भत्किएपछि विद्यालय भवनसमेत जोखिममा परेको छ।विद्यालयका प्रधानाध्यापक अंगबहादुर बुढाका अनुसार लगातारको वर्षाका कारण विद्यालयको पछाडिको भागमा माथिबाट पहिरोसमेत खसेको छ। पहिरोले नयाँ निर्माण गरिएको भवनको झ्यालसमेत पुरेको छ।
विद्यालय भवन जोखिमपूर्ण भूगोलमा निर्माण गरिएकाले वर्षा र पहिरोका कारण थप जोखिम बढेको प्रधानाध्यापक बुढाले बताए। विद्यालय संरक्षणका लागि तलपट्टि जाली लगाएर निर्माण गरिएको पर्खाल चार दिनको लगातार वर्षापछि भत्किएको शिक्षकहरूले बताएका छन्।
पर्खाल भत्किएपछि शिक्षक तथा विद्यार्थीलाई विद्यालयमा पठनपाठन गर्नसमेत जोखिम भएको उनीहरूको भनाइ छ।केही वर्षअघि प्राथमिक तहबाट माध्यमिक विद्यालयमा स्तरोन्नति भएको कालिका माध्यमिक विद्यालयमा हाल करिब तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयको पर्खाल भत्किएर भवनसमेत जोखिममा परेपछि शिक्षक, विद्यार्थी र अभिभावक चिन्तित बनेका छन्।
विद्यालयको जोखिम तत्काल न्यूनीकरण गरी भत्किएको पर्खाल पुनर्निर्माण गर्न विद्यालयले सोरु गाउँपालिका, प्रदेश तथा संघीय सरकार र गैरसरकारी निकायसँग माग गरेको छ।
समयमै पर्खाल पुनर्निर्माण नगरिए विद्यालयको भवनसमेत भत्किन सक्ने र नियमित पठनपाठनमा गम्भीर असर पर्न सक्ने प्रधानाध्यापक बुढाले बताए। विद्यालयले तत्काल प्राविधिक निरीक्षण गरी जोखिमको मूल्यांकन गर्न र आवश्यक संरचना निर्माणमार्फत विद्यार्थी तथा शिक्षकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।