शुक्रबार, बैशाख १९, २०८२
शुक्रबार, बैशाख १९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुगु नेर-लिब्रु गाउँमा प्रसुती भवन निर्माण

मुगु नेर-लिब्रु गाउँमा प्रसुती भवन निर्माण

  • बिहिबार, बैशाख १८, २०८२
मुगु नेर-लिब्रु गाउँमा   प्रसुती  भवन निर्माण

मुगु – सोरुगाउँपालिका विकट २ वडामा प्रसूति गृह निर्माण भएपछि त्यहाँका स्थानीय खुसी भएका छन् । सोरुगाउँपालिका–४ लिब्रु गाउँमा र वडा–५ नेर गाउँमा प्रसूति गृह (बर्थिङ सेन्टर) बनेपछि स्थानीय हर्षित भएका हुन् । दुवै प्रसूति गृह एकसाथ निर्माण सम्पन्न भई उद्घाटन भएसँगै त्यहाँका महिला, स्थानीयहरू हर्षित भएका छन् । ब्याक टु लाइभ इबी जर्मनीको आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र केसिडिसीको प्राविधिक सहयोग तथा साझेदारीमा सोरु गाउँपालिका–४ लिब्रुमा २ तले १० कोठे आवासीय सुविधा सम्पन्न पक्की भवनसहितको प्रसूति गृह निर्माण भएको छ भने, सोरु गाउँपालिका–५ नेर गाउँमा पनि १ तले ७ कोठे पक्की भवन सहितको प्रसूति गृह निर्माण भएको जनाइएको छ । आफ्नै घरअगाडि पक्की प्रसूति गृह बनेपछि स्थानीयहरूले साह्रै खुसी लागेको बताएका छन् ।

स्थानीयहरू खुसी हुँदै भने, ‘गाउँका गर्भवती महिलालाई गोठमा सुत्केरी हुनुपर्ने बाध्यतासमेत अन्त्य भएको छ । घरअगाडि बनेको प्रसूति गृहमा आफ्ना छोरी–बुहारीहरूले अबका दिनमा सुत्केरी हुन पाउने भएपछि साह्रै खुसी लागेको छ ।’ आफ्ना दिनमा यस्ता प्रसूति गृह र स्वास्थ्य संस्था नभएको सुनाउँदै सोरुगाउँपालिका–४ लिब्रुकी ६५ वर्षीया अंगसरा शाहीले आफूहरूको पालामा बच्चा गोठमै जन्माउने गरेको बताइन् । अब गाउँका छोरी–बुहारीलाई प्रसूति गृहमै सुत्केरी गराउन सहज हुने र उनीहरूलाई सुत्केरी गराउन बर्थिङ सेन्टरमा पठाउने उनको भनाइ छ । पहिला महिलाहरू बच्चा गोठमै जन्माएको सम्झँदै स्थानीय हिरामती शाही भन्छिन्, ‘आफूले पनि आफ्ना बच्चा गोठमै जन्माएकी हुँ, अब त घरअगाडि संस्थाले सुविधासम्पन्न प्रसूति गृह बनाइदियो, सुत्केरी हुन धेरै सजिलो हुने भयो ।’ कर्णाली सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक कृष्णबहादुर बोहोराका अनुसार ब्याक टु लाइभ इबी जर्मनीको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोग तथा साझेदारीमा संस्थाले समुदायको मागमा शिक्षा र स्वास्थ्य, समुदायमा आधारितलगायत अन्य विभिन्न कार्यक्रम तथा विकास निर्माणका कामहरू गर्दै आएको बताएका छन् ।

सोरु गाउँपालिकाका धेरै वडा बस्तीमा विद्यालय भवन र प्रसूति गृह निर्माण गरेका छौँ, अहिले लिब्रुमा ७२ लाख २१ हजार ३२९ रुपैयाँमा २ तले १० कोठे आवासीय पक्की भवन सहितको प्रसूति गृह निर्माण गरिएको र सोही पालिकाको नेरमा ५९ लाख ८२ हजार ९२७ लागतमा १ तले ७ कोठे प्रसूति गृह निर्माण सम्पन्न गरी औपचारिक कार्यक्रम गरी सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक बोहोराले बताए । सरकारले राखेको एक वडा एक बर्थिङ सेन्टरको लक्ष्यमा स्थानीय तहहरू सक्रिय भएका छन् । तर भौगोलिक विकटताका कारण अझै महिलाहरू यो सुविधा पाउन नसकेका सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । उनका अनुसार विभिन्न सहयोगी संस्थाको सहयोगमा विगतका वर्षहरूको तुलनामा स्वास्थ्य सेवाको पहुँचमा विस्तार गरेको हो । यसअघि सुत्करी हुन् दिनभरी पैदल हिँडेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता थियो ।

 

चर्चामा

सम्बन्धित समाचार