मुगु —आगामी फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने म्यादी प्रहरीलाई अब निर्वाचन प्रहरीको रूपमा पहिचान दिइने भएको छ । विगत बर्षमा निर्वाचन सुरक्षार्थ कार्य अवधि तोकेर भर्ना भएका सुरक्षाकर्मीलाई ‘म्यादी प्रहरी’ उल्लेख र यो पटक देखि म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नामकरण गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षाअन्तर्गत अवधि तोकेर नेपाल प्रहरीको नेतृत्वमा रहेर गरी भर्ना हुने जनशक्तिलाई निर्वाचन प्रहरीका रूपमा पहिचान दिन लागिएको जानकारी गराए ।
म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नामकरण गरेर ४० दिनको कार्यअवधिसहित भर्ना गर्ने गरी प्रक्रिया अघि बढाइएको उनको भनाई छ । नामकरण नै सबैथोक त होइन तर म्यादीको साटो निर्वाचन प्रहरी राख्दा एक किसिमको अपनत्व र जुन कामका लागि खटिएको हो, त्यसको पहिचान पनि झल्किन जान्छ प्रबक्ता काफलेको भनाई छ । उहाका अनुसार त्यसैले यस पटक निर्वाचन प्रहरीका रूपमा ४० दिन कार्यअवधि तोकेर भर्ना गर्न लागिएको छ । यसका लागि ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ को मस्यौदा प्रहरी प्रधान कार्यालयबाट बन्ने क्रममा रहेको गृह मन्त्रालयले जनाएको छ ।
आसन्न निर्वाचनमा करिब १ लाख ३० हजार ‘निर्वाचन प्रहरी भर्ना गर्ने सरकारको तयारी छ । गृह मन्त्रालयका अनुसार २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । त्यही वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा करिब १ लाख म्यादी भर्ना भएका थिए । त्यसअघि २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा करिब ९८ हजार र त्यही वर्षको स्थानीय तह निर्वाचनमा ७५ हजार तथा २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।