मुगु —आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आज देशभर मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । सोही क्रममा मुगु जिल्लामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले शक्ति प्रदर्शनसहित मनोनयन दर्ता गराएका छन् ।कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थितिमा बाजागाजासहित उम्मेदवारहरूले मनोनयन दर्ता गराउँदै आ–आफ्ना राजनीतिक एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरेका थिए ।
मुख्य निर्बाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराए पछि संचारकर्मी संग प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उम्मेदवार खडग बहादुर शाहीले भदौ २३ र २४ गतेको आन्दोलनपछि देशले परिवर्तन खोजेको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरण, समावेशिता र दिगो विकास आफ्नो प्रमुख प्राथमिकता रहेको जानकारी दिए । मिहिनेतका साथ लामो घोषणा पत्र तयार गरेर भोट माग्न मतदाता सामु जाने शाहीले बताए ।
नेकपा एमालेका उम्मेदवार पूर्ण बहादुर रोकायाले जिल्लाको समग्र विकास, सुशासन र राजनीतिक स्थायित्व पुरा गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन ।त्यसै गरि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले लोकतन्त्रको संरक्षण, समावेशी विकास र जनजीविकाको सुधार युवा रोजगारलाई आफ्नो चुनावी प्रमुख मुद्दा बनाएको बताएका छन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भुवन टमाटाले भ्रष्टचारको अन्त्य सामाजिक बिकास सुशासन, पारदर्शिता र पुरानो राजनीतिक प्रवृत्तिको अन्त्य गर्ने पार्टीको मुख्य एजेन्डा रहेको बताएका छन ।
त्यसै गरि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी– रंगबीर परियार सामाजिक न्याय, किसान–मजदुरको हकहित तथा युवा रोजगार मुख्य एजेण्डा रहेको बताएका छन । निर्वाचन कार्यालयका अनुसार मुगु जिल्लामा ३६ हजार ३१ जना मतदाता रहेका छन् । चारवटा स्थानीय तह रहेको मुगुमा ६७ मतदान स्थल र ७९ मतदान केन्द्र तोकिएका छन् ।