काठमाडौ —विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति रामचन्द पौडेलले शुभकामना ब्यक्त गर्नुभएको छ । प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकोले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको उहाको भनाई रहेको छ ।
राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जान्छ, प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारहरूलाई सञ्चार कार्य गर्नाका लागि सुरक्षित वातावरण हुनु पर्दछ भन्ने मलाई लाग्दछ ।
हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ उहाको भनाई छ । सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवम् निर्वाधरुपमा संलग्नभई समाचार संप्रेषण गरी सबै वर्ग एवम् समुदायको आवाज मुखरित हुनुपर्दछ राष्टपतिको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशका अनुसार नागरिकलाई दिग्भ्रमित गर्ने अपुष्ट, भ्रामक, र आधारहीन प्रकाशन र प्रसारणका सूचना संप्रेषण गर्ने तथा आम नागरिकलाई सही विचार निर्माण गर्न बाधासमेत उत्पन्न गर्ने गर्दछ, त्यसैले स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ भन्ने मलाई लाग्दछ ।
बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा विद्यमान प्रणालीलाई कमजोर बनाउने चुनौती हाम्रो सामु छ उहाको भनाई छ ।
सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गर्दछु उहाले बताउनु भएको छ । हरेक वर्ष मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ ।