काठमाडौ —भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै तोकिएको अवधिभित्र हाजिर हुन निर्देशन गरेको छ । मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदा लिएका तर त्यसको अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नगराई बेपत्ता भएका कर्मचारीहरूलाई लक्षित गरी यो सूचना जारी गरिएको हो ।
आगामी तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक नगराए कानुन बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाउने चेतावनी मन्त्रालयले दिएको छ ।