काठमाडौ —सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्टले शिष्टाचार भेटवार्ता गरेका छन । बुधबार मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, सञ्चार क्षेत्रको सुदृढीकरण, डिजिटल रूपान्तरण तथा संघीयताको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ ।
भेटका क्रममा राजदूत अन्स्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य विस्तार गर्न सकिने क्षेत्रबारे चासो व्यक्त गरेका छन ।
राजदूत अन्स्टले अष्ट्रेलियाले नेपालमा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक प्राविधिक तथा संस्थागत सहयोग जारी रहने विश्वास व्यक्त गरेका छन ।सञ्चारमन्त्रीले सरकारले हुलाक सेवाको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै यस क्षेत्रमा अष्ट्रेलियाको अनुभव, सफल अभ्यास तथा प्राविधिक सहयोग आवश्यक रहेको बताए।
उनले डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने तथा सूचना प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्ने कार्यमा सरकार सक्रिय रहेको उल्लेख गर्दै डिजिटल रूपान्तरणका क्षेत्रमा पनि अष्ट्रेलियाको सहयोग रहेको बताएका छन ।