काठमाडौ —नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर स्थित बीपी कोइराला स्मारकका लागि सरकारले विनियोजन गरेको २ करोड बजेट फिर्ता गरेका छन ।
देशमा आर्थिक चुनौतीसँग जुधिरहेको अवस्थामा सार्वजनिक स्रोत–साधनको अधिकतम उपयोग नागरिकको प्रत्यक्ष हित हुने क्षेत्रमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै बीपी स्मारक निर्माणका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन सरकारसँग अनुरोध गरेका छन ।
डा.कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र लेख्दै वर्तमान आर्थिक तथा सामाजिक अवस्थालाई दृष्टिगत गर्दा स्मारक निर्माण भन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र जनजीविकासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सरकारी लगानी केन्द्रित गर्नुपर्ने उल्लेख गरेका छन ।
बीपी कोइरालाको स्मृति र योगदानलाई चिरस्थायी बनाउन भौतिक संरचनाभन्दा उहाँले देखाएको मार्गलाई व्यवहारमा उतार्नु नै सबैभन्दा प्रभावकारी उपाय हुने उहाको भनाई छ ।