काभ्रे —शिक्षण–सिकाइलाई थप प्रभावकारी, सिर्जनात्मक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले शिक्षक शिक्षिकाहरुलाई जेनेरेटिभ एआई तालिम भाद्र २१ र २२ गते गरि दुई दिने संचालन गरि सम्पन्न गरिएको छ ।
काभ्रे जिल्ला स्थित पाँचखाल नगरपालिका–९ अन्तर्गतका पलाञ्चोक भगवती माध्यमिक विद्यालय, पलाञ्चोक ई. स्कुल, जनजागरण प्राथमिक विद्यालय र कालिदेवी प्राथमिक विद्यालयमा कार्यरत दुई दर्जन शिक्षकहरूको सहभागितामा पलाञ्चोक भगवती माध्यमिक विद्यालय, पाँचखाल –९ भगवती स्थानमा उक्त तालिमका आयोजना गरिएको छ ।
कार्यशालाको सहजीकरण काठमाडौँ विश्वविद्यालयका सह–प्राध्यापक डा. भरतप्रसाद न्यौपानेले गरेका थिए । तालिममा सहभागी शिक्षकहरुलाई जेनेरेटिभ एआई आधारभूत अवधारणा, प्रभावकारी प्रोत्साहन तथा शिक्षण–सिकाइ प्रक्रियामा कृत्रिम बौद्धिकता एआई को व्यावहारिक र शैक्षिक प्रयोगका विषयमा प्रशिक्षण तथा अभ्यास गराइएको आयोजक भगवती माध्यमि बिद्यालयका प्रधानध्यापक बेगमबहादुर थापाले जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरपालिका–९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठका अनुसार विद्यार्थीको सिकाइ सहजीकरणमा अभिभावकको पनि महत्वपूर्ण भूमिका रहने भएकाले अभिभावकलाई समेत एआइ सम्बन्धी आधारभूत ज्ञान तथा तालिम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित पाँचखाल नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख उदयप्रसाद कोइरालाले शिक्षक तथा विद्यार्थीले एआइको सही, जिम्मेवार र रचनात्मक प्रयोग गर्नुपर्नेमा बिषयमा बिशेष जोड दिनुभयो ।
कार्यशालाबाट आफूले धेरै नयाँ कुरा सिकेको र प्राप्त ज्ञान तथा सीपलाई आगामी दिनमा विद्यालयको शिक्षण–सिकाइ प्रक्रियामा प्रयोग गर्ने सहभागी शिक्षक श्यामप्रसाद पौड्यालको भनाई छ । अनुसार एआइ को प्रयोगले शिक्षणलाई थप सिर्जनात्मक र प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाई छ ।
समय र प्रविधिको विकाससँगै शिक्षकहरू पनि निरन्तर अद्यावधिक हुनुपर्ने आवश्यकता महसुस गरी कार्यशाला आयोजना गरिएको पलाञ्चोक भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक थापालले बताए ।
उहाँले आगामी दिनमा पनि वडा तथा नगरपालिकासँग समन्वय गरी शिक्षकहरूको क्षमता विकास र प्रविधिमैत्री शिक्षण प्रवद्र्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यशालाले शिक्षकहरूलाई बदलिँदो शैक्षिक परिवेशमा जेनेरेटिभ एआईको सम्भावना र प्रयोगबारे व्यावहारिक ज्ञान प्रदान गर्दै प्रविधिको जिम्मेवार तथा सिर्जनात्मक प्रयोगमार्फत शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।