बिहानको पहिलो उज्यालो
अझै क्षितिजको आँखामा निद्रा बाँकी हुँदा,
एउटा मान्छे
सूर्यभन्दा पहिले विद्यालय पुग्छ।
उसको हातमा चाबीको गुच्छा हुन्छ,
तर आफ्नै भाग्यको ढोका भने
वर्षौंदेखि बन्द छ।
ऊ विद्यालयको पहिलो पाइला हो,
अन्तिम छायाँ पनि।
सबै आउँछन्,
सबै जान्छन्,
ऊ मात्रै समयको चौकीदार बनेर
घडीसँगै बुढो हुँदै जान्छ।
उसले झाडु चलाउँदा
धुलो मात्र उड्दैन—
आफ्ना अधुरा सपनाहरू पनि
हावामा तितरबितर हुन्छन्।
उसले पुछेको भुइँमा
भोलिका डाक्टर हिँड्छन्,
इन्जिनियर हिँड्छन्,
प्राध्यापक हिँड्छन्,
नेता हिँड्छन्।
तर
उसको आफ्नै पाइतालाले
गरिबीको काँडामात्र टेकिरहन्छ।
घण्टी उसैले बजाउँछ—
कक्षाहरू फेरिन्छन्,
शिक्षक फेरिन्छन्,
प्रधानाध्यापक फेरिन्छन्,
सरकार फेरिन्छ,
नीति फेरिन्छ,
तर फेरिँदैन
उसको करार।
शौचालयदेखि कार्यालयसम्म
उसका हातले
दुर्गन्धलाई सुगन्ध बनाउँछन्,
तर समाजले
उसको सम्मानलाई
सधैं दुर्गन्धकै नजरले हेर्छ।
ऊ विद्यालयको मेरुदण्ड हो,
तर कसैले मेरुदण्ड देख्दैन।
सबैले अनुहारको प्रशंसा गर्छन्,
भित्री हाडको पीडा
कसैले सुन्दैन।
ऊ एउटा मैनबत्ती हो—
दिनहुँ पग्लिरहन्छ,
अरूको उज्यालोका लागि।
तर आफ्नै घरको चुल्होमा
अन्धकारले भात पकाइरहेको हुन्छ।
उसको पसिना
भित्तामा टाँसिएका सम्मानपत्रभन्दा
धेरै पवित्र छ।
तर तलबको खामले
कहिल्यै त्यो पसिनाको मूल्य चिन्दैन।
चौबिसै घण्टा
विद्यालयको आँगनभित्र बस्ने मान्छे
आफ्नै जीवनको आँगनमा
अतिथि बनेर फर्कन्छ।
उसका छोराछोरीले
बुबाको अनुहारभन्दा बढी
झाडुको बिँड चिन्छन्।
उसका आँखाहरू
धेरै रोए,
तर आँसु पनि
अब तलबजस्तै
थोरै हुन थालेका छन्।
कहिलेकाहीँ
विद्यालयको राष्ट्रिय झण्डा
हावामा फर्फराउँदा
ऊ पनि मनमनै फर्फराउँछ—
“यो देशमा
मेरो श्रम पनि कहिले स्वतन्त्र होला?“
हे समाज!
विद्यालयको भवन
सिमेन्टले मात्र उभिएको होइन,
यस्ता मौन मानिसका
हाड, पसिना र आशाले उभिएको हो।
यदि कुनै दिन
उसले झाडु थन्काइदियो भने,
धुलो भुइँमा मात्र होइन—
हाम्रो विवेकमा पनि जम्नेछ।
यदि कुनै दिन
उसले घण्टी नबजाइदियो भने,
कक्षाको समय मात्र होइन—
हाम्रो मानवताको समय पनि रोकिनेछ।
इतिहासले
प्रधानाध्यापकको नाम लेख्ला,
शिक्षकको नाम लेख्ला,
दाता र नेताको नाम पनि लेख्ला।
तर विद्यालयलाई
आफ्नो यौवन,
आफ्नो पसिना,
आफ्नो निद्रा,
आफ्नो सपना
र अन्ततः आफ्नो जीवन अर्पण गर्ने
त्यो मौन मानिसको नाम
सायद कसैले लेख्नेछैन।
तर…
ईश्वरको डायरीमा
सबैभन्दा उज्यालो अक्षरले
लेखिएको नाम
सायद
एउटा विद्यालय सहयोगीको नै हुनेछ।
बेगम थापा निश्चल