आइतवार, मंसिर ७, २०८३
आइतवार, मंसिर ७, २०८३
  • होमपेज
  • News
  • कर्णाली क्षेत्रमा देउवाका सारथी ऐनबहादुर शाहीको सहमहामन्त्रीको तयारी

कर्णाली क्षेत्रमा देउवाका सारथी ऐनबहादुर शाहीको सहमहामन्त्रीको तयारी

  • शनिबार, मंसिर ६, २०८३
कर्णाली क्षेत्रमा देउवाका सारथी ऐनबहादुर शाहीको सहमहामन्त्रीको तयारी

मुगु –नेपाली कांग्रेस देउवा पक्षको १५ औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा कर्णाली प्रदेशको राजनीतिमा नयाँ समीकरण र नेतृत्वको चर्चा सुरु भएको छ ।यसै क्रममा, कांग्रेस देउवा पक्षका सारथी तथा पूर्व वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले  सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन । शाहीले  ’पिछडिएको क्षेत्र’ बाट केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने योजनासहित आफ्नो राजनीतिक दौडधुप र भेटघाटलाई तीव्रता दिएका हुन् ।

पार्टीको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा नेता शाही यतिबेला आन्तरिक परामर्श र लबिङमा व्यस्त देखिएका छन्।उनले पार्टीका शीर्ष तहका नेताहरूदेखि लिएर महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्लाका सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र स्थानीय कार्यकर्ताहरूसँगको भेटघाटलाई तिब्रता दिएका छन ।यी भेटघाटहरूमा शाहीले आगामी महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो दाबेदारीको औचित्य पुष्टि गर्दै आफ्ना भावी योजना र धारणाहरू राख्ने गरेका छन्।

अर्कोतर्फ, भेटघाटका क्रममा अधिकांश नेता तथा कार्यकर्ताहरूले पनि उनलाई कर्णाली प्रदेशको पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै सहमहामन्त्री पदका लागि अघि बढ्न सुझाव समेत दिइरहेका छन ।आफ्नो तयारीबारे स्पष्ट पार्दै शाहीले भने “१५ औँ महाधिवेशनमा कर्णालीको पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने सोच बनाएको छु।

त्यसैका लागि अहिले नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्ने, सुझाव सल्लाह लिने र आफ्ना धारणा राख्ने काममा सक्रिय छु।“शाहीको राजनीतिक यात्रा लामो सांगठनिक अनुभव देउवापक्षमै खारिएको छ। उनले मुगु जिल्लामा पार्टीको नेतृत्व तहमा रहेर चार कार्यकालसम्म सभापति भइसकेका छन ।जस अनुसार दुई पटक निर्वाचित भएर, एक पटक सर्वसम्मत रूपमा र एक पटक केन्द्रीय नेतृत्वमार्फत उनले जिल्ला सभापतिको भूमिका निर्वाह गरि सकेका छन ।

लामो समयसम्म जिल्लाको संगठन हाँकेको अनुभव र शालीन राजनीतिक छविका कारण उनलाई केन्द्रीय तहमा पुग्न सहज हुने विश्लेषण कतिपय कांग्रेस वृत्तमा गरिँदै आएको छ।

कांग्रेसका नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूले शालीन र मिलनसार स्वभावका शाहीलाई पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवारका रूपमा स्वीकार गर्न सक्ने बलियो सम्भावना देखिएको बताएका छन ।पछिल्लो समय कर्णाली प्रदेशको कांग्रेस राजनीतिमा उल्लेख्य फेरबदल देखिएको छ। लामो समयदेखि काग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षमा रहेर राजनीतिक लाभ र निरन्तर सहयोग लिएका कर्णालीका सबै अग्रज नेताहरूले छोडेर सभापति गगन थापातिर लागि सकेका छन ।

तर, यस्तो संकटको अवस्थामा पनि ऐनबहादुर शाही भने देउवा पक्षमै अडिग रहेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा देउवा बाट संघीय वन तथा वातावरण मन्त्री बनेका शाहीले अप्ठ्यारो परिस्थितिमा पनि देउवाको साथ नछोडेको बताएका छन्।
कर्णालीमा देउवा पक्षका अग्रज नेताहरूले साथ छोड्दा पनि शाहीले देउवा समूहको अस्तित्व र वर्चस्व कायम राख्न जिल्ला अधिवेशनहरू सफल पार्न निरन्तर दौडधुप गरिरहेका छन्। आफ्नो राजनीतिक निष्ठा र अडानबारे शाहीले प्रस्ट शब्दमा भनेका छन्, “देउवाले मलाई गरेको सहयोग म कहिल्यै बिर्सन सक्दिनँ। हिजो पनि देउवा पक्षमै रहेर राजनीति गरेँ, आज पनि उहाँकै साथमा छु।
क्षणिक स्वार्थका लागि देउवा त्यागेर म अर्कोतिर लाग्न सकिन उनको भनाई छ ।

कठिन समयमा शाही देउवाप्रति देखाएको यही वफादारीका कारण पनि १५ औँ महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री पदमा उनको दाबेदारीलाई स्वाभाविक मानिएको छ।नेपाली कांग्रेस देउवा पक्षले कर्णाली प्रदेशका जिल्ला अधिवेशनहरू सम्पन्न गरी अब प्रदेश अधिवेशनको तयारीलाई तीव्र पारेको छ। वडातह देखि जिल्ला अधिबेसन सम्पन्न गर्न नेता शाहीको भूमिका बढी रहेको छ । कर्णाली प्रदेशको अधिवेशन यही मंसिर १३ र १४ गते प्रदेश राजधानी सुर्खेतमा हुदैछ । कांग्रेस देउवापक्षको  १५ औ महाधिबेसन मंसिर २२ र २३ गते काठमाडौ खुलामञ्जमा हुदैछ ।

चर्चामा

सम्बन्धित समाचार