मुगु —काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुव्र्यवहार गरेको घटनामा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ । कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ सुर्खेत बस्ने अन्दाजी ४२ वर्षीया धमिला चौलागाईलाई नगर प्रहरीले काफल पोखाइदिँदै दुव्र्यवहार गरेको थिए ।
नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै जेठ ५ गते मंगलबार साँझ नगर प्रहरीद्वारा सडकपेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगरपालिका–६ स्थित सिटी बसपार्कमा डालामा काफल बेच्दै गरेकी चौलागार्इ माथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त कार्यमा संलग्न नगरप्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहात तथा क्षतिपूर्ति दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता टङ्कप्रकाश लामिछानेले जानकारी गराए । पीडित महिलालाई नगरप्रमुख मोहनमाया ढकालकै हातबाट १० हजार क्षतिपूति प्रदान गरिएको उनको भनाई छ । नगरप्रहरीले मगलवार साँझ सिटी बसपार्कमा काफल बेच्दै गरेको महिलाको डालो बैच्न राखिएको काफल समातेर घोप्ट्याउँदा महिला रोइकराइ गरेको भिडियो सार्वजनिक भएको थियो ।