काठमाडौ —बिशेष गरि नेवार समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको गुँला पर्व सुरु भएसँगै काठमाडौँ उपत्यकाका बौद्ध विहार तथा चैत्यहरूमा बिहानैदेखि रमझम र चहलपहल बढेको छ।
श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने यस पर्वमा पछिल्लो समय नव पुस्ताको सक्रिय सहभागिता पनि बढ्दै गएको छ।
गुँला पर्वका अवसरमा बिहान झिसमिसे नहुँदै स्वयम्भू महाचैत्य परिसर धिमे, बाँसुरी, पछिमा लगायतका परम्परागत बाजाको धुनले गुञ्जायमान हुने गर्दछ। परम्परागत बाजा बजाउँदै राजधानीका विभिन्न स्थानबाट भक्तजन स्वयम्भू पुग्ने र चैत्यको परिक्रमा गर्ने गर्दछन् ।विशेषगरी नव पुस्ताका युवायुवती बिहानै स्वयम्भू पुगेर बाजागाजासहित चैत्यको परिक्रमा गर्ने, पूजा–आराधना गर्ने र आफ्ना पुर्खाले सुरु गरेको परम्परालाई निरन्तरता दिने अभियानमा सहभागी भइरहेका छन ।शनिबार र बिदाका दिन भने सहभागीको सङ्ख्या अझ बढ्ने गरेको छ ।