मङ्लबार, भदौ ९, २०८३
मङ्लबार, भदौ ९, २०८३
  • होमपेज
  • समाज
  • बाजागाजा सहित बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजागाजा सहित बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

  • मङ्लबार, भदौ ९, २०८३
बाजागाजा सहित बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

मुगु —धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्री सहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ ।
सोमबार सदरमुकाम मार्तडीस्थित मालिका मन्दिर पूजाआजा एवं सुरक्षाकर्मीको संयुक्त सलामी अर्पण गर्दै औपचारिक तीर्थयात्रा सुरु गर्दै सरकारी टोलीलाई विदाई गरिएको हो ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहरा सहितको एकिकृत रुपमा सरकारी टोली बडीमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत सयौंको संख्यामा तीर्थयात्राहरु केही दिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थाले पनि औपचारिक यात्रा सोमबारबाट सुरु गरिएको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी निरौलाले प्रहरी प्रमुखको नेतृत्वमा नै टोली हिडेको भन्दै बडमिालिकामा सुरक्षा व्यवस्था मजबुद बनाइएको जानकारी दिए ।
सुरक्षाकर्मीको सलामी, बाजाजागासहित, फूलमालामा सजिएका जमाराको टोकरी शिरमा राखेर पञ्च कन्या र महिलाहरुले सरकारी टोलीको विदाइ गरेका छन । बुढीनन्दामा भने आइतबार नै जिल्लाको सरकारी टोली हिडिसकेको छ । बडीमालिका र बुढीनन्दा दुवै धार्मिक शक्ति पीठमा तीनदिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने मान्यता छ ।
टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गरेको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले जानकारी दिए ।
बडीमालिका, बुढीनन्दा सहित जिल्लाका दर्जन बढी धार्मिक शक्तिपीठहरुमा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दर्शीका दिन हुन्छ । मागेको वर पाइने र आफ्नो मनोकांक्षा पुरा हुने विश्वासका साथ धार्मीक शक्ति केन्द्रमा भक्तजनहरुले पूजापाठ गर्ने गरेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिकामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल बुढीनन्दा करिब चार हजार ८८८ मिटर उचाइमा अवस्थित छ ।
सत्य युगमा भगवान शिवले सतीदेवीको शरिरलाई संसार भर घुमाउने क्रममा पर्वत श्रृखलामा शरिरका अंगहरु खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मीक विश्वासका आधारमा बडीमालिकामा पूजापाठ गर्ने गरिएको मान्यता रहेको बडीमालिकाका पुजारी नेत्र पाध्यायले बताए ।
बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। धार्मिक पूजाआरधानाका साथै सोही स्थानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गरेका छन् ।बडीमालिकाको दर्शनपछि मनोकांक्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेको पुजारी नेत्रप्रसाद पाध्यायले बताएका छन् । बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, मागेको पूरा हुने विश्वासका साथ श्रद्धालु भक्तजनहरू बडीमालिकामा घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।

बडीमालिका पूजाका लागि डोटी, जुम्ला र कालिकोटसहित कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोली समेत यसअघि नै प्रस्थान गरिसकेको छ । यस्तै बडीमालिका भगवतीको पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि आइतबार पूजा सामग्रीसहित सरकारी टोली पठाएको छ ।
बडीमालिका माताको दर्शनका लागि दर्शनार्थीहरुको संख्या विगतका वर्षभन्दा यस वर्ष झन् बढ्ने अनुमान गरिएको नगर प्रमुख खड्काको भनाई छ । उनकाअनुसार सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमको फोरजी टावर जडान गरि सेवा सुरु गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार