बिहिबार, अशोज ८, २०८३
बिहिबार, अशोज ८, २०८३
  • होमपेज
  • समाज
  • बसन्तपुर हनुमान ढोका क्षेत्रमा इन्द्रजात्राको चहलपहल

बसन्तपुर हनुमान ढोका क्षेत्रमा इन्द्रजात्राको चहलपहल

  • बुधबार, अशोज ७, २०८३
बसन्तपुर हनुमान ढोका क्षेत्रमा इन्द्रजात्राको चहलपहल

काठमाडौ —बसन्तपुर–हनुमानढोका क्षेत्र यतिबेला इन्द्रजात्रा सुरु भएसंगै रौनकले भरिएको छ ।जात्राका लागि सजिएको हनुमानढोका दरबार क्षेत्र, कुमारीघर आसपासको मठमन्दिर स्वगतद्धारा परम्परागत बाजागाजाको धुन र जात्रा हेर्न जम्मा भएका मानिसको उपस्थितिले काठमाडौंको सांस्कृतिक जीवन्त बनाएको छ ।

इन्द्रजात्रा प्रारम्भसंगै बसन्तपुरका गल्लीहरूमा मानिसको चहलपहल अझ बाक्लिन्छ । कोही जात्राको दृश्य क्यामेरामा कैद गर्न व्यस्त देखिन्छन् भने कोही परिवार र साथीभाइसँगै जात्राको रमाइलोमा सहभागी भइरहेको देखिन्छन ,
जात्रा अवलोकन गर्न विदेशी पर्यटक पनि उत्तिकै देखिने गरेका छन । जात्राले काठमाडौंको संस्कृति, इतिहास र जीवनशैली नजिकबाट बुझ्ने अवसर बनेको छ ।

हनुमानढोका दरबार क्षेत्रको खुला चोकमा उभिँदा जात्राका अनेक दृश्य एकैपटक आँखाअघि आउँछन्। परम्परागत पोसाकमा सजिएका मानिस, विभिन्न सांस्कृतिक समूहका प्रस्तुति, धिमे र अन्य परम्परागत बाजाको आवाज तथा जात्राका लागि तयार पारिएका संरचनाले वातावरणलाई उत्सवमय बनाएको छ ।

इन्द्रजात्रा काठमाडौं उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो । धार्मिक आस्था, स्थानीय परम्परा र सामाजिक सम्बन्धसँग जोडिएको यो जात्रा पुस्तौँदेखि निरन्तर चल्दै आएको छ । यस अवसरमा कुमारी, गणेश र भैरवको रथयात्रा, विभिन्न देवीदेवताका नाच तथा परम्परागत सांस्कृतिक गतिविधि मुख्य आकर्षणका रूपमा रहने गर्छन्

बसन्तपुरको जात्रा केवल धार्मिक अनुष्ठानमा सीमित छैन। मानिसको भीडले काठमाडौंका विभिन्न पुस्ताको साझा उपस्थिति देखिन्छ ।
वृद्धहरू पुराना जात्राका सम्झना सुनाइरहेका भेटिन्छन् भने युवा पुस्ता मोबाइल फोनमा दृश्य कैद गर्दै सामाजिक सञ्जालमा साझा गरिरहेका हुन्छन्। बालबालिकाका लागि जात्रा आफैँमा कौतूहल र उत्सवको संसार बनेको छ।

जात्राको अवसरमा बसन्तपुर आसपासका पसल र सडकमा पनि विशेष चहलपहल देखिन्छ। स्थानीय परिकार, हस्तकलाका सामग्री तथा परम्परागत वस्तुको कारोबार बढेको छ । साना व्यवसायीका लागि जात्राको समय व्यापार बढाउने अवसर बनेको छ ।
जात्रा हेर्न आउने सर्वसाधारणलाई सहज रूपमा आवतजावत गराउन तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न विभिन्न निकाय सक्रिय छन् । हनुमानढोका क्षेत्रमा पुग्नेहरूका लागि जात्रा एउटा दृश्य मात्र होइन, इतिहाससँगको प्रत्यक्ष भेटजस्तै लाग्छ।

भूकम्प, राजनीतिक परिवर्तन र आधुनिक जीवनशैलीका अनेक चरण पार गरेको यो क्षेत्र अझै पनि आफ्ना परम्परालाई उत्सवका रूपमा जोगाइरहेको छ। दरबार क्षेत्रका पुराना संरचनाबीच बज्ने परम्परागत बाजा र देखिने सांस्कृतिक झाँकीले काठमाडौंको पुरानो पहिचानलाई वर्तमानसँग जोडिरहेको अनुभूति हुने गरेको स्थानीयको भनाई छ ।
दरबार क्षेत्र वरिपरि बत्तीको उज्यालो फैलिँदा जात्राका दृश्य थप रंगीन देखिन्छन्। भीडमा उभिएका मानिसको अनुहारमा उत्साह देखिन्छ। रथयात्रा तथा जात्राका गतिविधि हेर्ने प्रतीक्षामा हुन्छन्।

इन्द्रजात्राको यही चहलपहलले बसन्तपुरलाई केही दिनका लागि काठमाडौंको सांस्कृतिक केन्द्रमा परिणत गरिदिन्छ। यहाँ धर्म छ, परम्परा छ, संगीत छ, व्यापार छ र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सामूहिक स्मृति पनि छ। आधुनिक काठमाडौंको व्यस्तताबीच इन्द्रजात्राले मानिसलाई केही समय आफ्नै सांस्कृतिक उन्मुख गराएको झल्को दिएको छ ।

इन्द्रजात्रालाई सव्य र भव्य तरिकाले सञ्चालनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँग ३१ गुठी आबद्ध छन् । उक्त गुठीहरुले तयारी गरि रहेका छन । इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले जात्रा हेर्ने अन्तरराष्ट्रिय पर्यटक धेरै आउने गरेका छन

विशेष गरेर नेवार समुदायमा विशेष महत्त्व राख्ने इन्द्रजात्रा काठमाडौँ उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा परम्परागत रूपमा मनाइन्छ । जात्राका क्रममा हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने गरिन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा इन्द्रजात्राको विशेष महत्व रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार