जहाँबाट छुट्छन् बाटाहरू,
काठमाडौँ, ललितपुर र भक्तपुरतिर,
जहाँ भेटिन्छन् हजारौँ पाइला,
आशा, विश्वास र सपनाका लहर,
त्यहीँ उभिएको छ माईतीघर मण्डेला,
इतिहास बोकेको एउटा मौन सहर।
पूर्वतिर हेर्छ—संसद् भवन,
जहाँ जनताको आवाज गुन्जिनुपर्ने हो,
जहाँ गरिबको आँसु पुछ्ने कानुन
र न्यायको दीप बल्नुपर्ने हो।
उत्तरमा सिंहदरबार उभिएको छ,
जहाँबाट देशको शासन चल्छ,
त्यहीँ नजिकै सर्वोच्च अदालत छ,
जहाँ अन्यायको अन्तिम फैसला हुन्छ।
पश्चिमतिर फर्केर हेर्छ माईतीघर,
जङ्गी अड्डाको अग्लो पर्खाल,
देशको सुरक्षामा तैनाथ सेना,
सीमादेखि सहरसम्म पहरेदार विशाल।
चारैतिर शक्ति, शासन र सुरक्षा,
तर बीच सडकमा किन यति धेरै पीडारु
किन अझै न्याय खोज्दै हिँड्छन् मानिस,
किन अझै बाँकी छ आँसुको कथारु
बिहानको घाम नझुल्किँदै,
भेला हुन्छन् हजारौँ पाइला,
कसैका हातमा प्लेकार्ड हुन्छन्,
कसैका आँखामा आँसुका छाल।
कसैको स्वरमा नारी वेदना,
कसैको मुटुमा चीत्कार,
कसैको काख रित्तिएको हुन्छ,
कसैको जीवन उजाडिएको अपार।
कोही छोरीको न्याय खोज्दै आउँछ,
कोही दिदीबहिनीको अस्मिता लिएर,
कोही हत्या र हिंसाविरुद्ध उभिन्छ,
कोही बलात्कारको घाउ सिएर।
कसैको हातमा न्यायको माग छ,
कसैको ओठमा नागरिक अधिकार,
कसैको छातीमा दबिएको पीडा,
कसैको आँखामा परिवर्तनको संसार।
यहाँ नारीका आँसु बोल्छन्,
यहाँ आमाका सपना रुन्छन्,
यहाँ छोरीका अधुरा रहरहरू
सडकका ढुङ्गामा पोखिन्छन्।
यहाँ बाबुका काँपेका हातहरू
न्यायको ढोका ढकढक्याउँछन्,
यहाँ निर्दोषका मौन चीत्कारले
आकाशसम्म प्रश्न उठाउँछन्।
कहिले अनशनको रूप लिन्छ,
कहिले आन्दोलनको स्वर बन्छ,
कहिले मौन धर्ना बस्छ,
कहिले आक्रोशको ज्वार बन्छ।
कसैको पेटमा अन्न हुँदैन,
कसैको आँखामा निद्रा हुँदैन,
तर न्यायको आशा बोकेको
मन थाकेर पनि थाक्दैन।
अनि अचानक— शान्त सडकमा
बुट बजारिन्छ,
आकाशतिर अश्रुग्याँस उड्छ,
मानिसका आँखामा पीडा बल्छ,
आन्दोलनको स्वर थुनिन्छ।
कसैको हातबाट झण्डा खस्छ,
कसैको आँखाबाट आँसु झर्छ,
कसैको काँपिरहेको ओठले
अझै न्यायको नाम जपिरहन्छ।
माईतीघर१ तिमीले कति आँसु देख्यौ होलारु
कति आमाका बिलौना सुन्यौ होलारु
कति छोरीका चीत्कारहरू
आफ्नै छातीभित्र लुकायौ होलारु
कति निर्दोषका आशाहरू
तिम्रै सडकमा छरिए होलान्,
कति सपना अश्रुग्याससँगै
हावामा हराएर गए होलान्।
तिमी बोल्न सक्दैनौ,
तर तिम्रा ढुङ्गाहरू बोल्छन्,
तिम्रा सडकका धुलाहरू बोल्छन्,
तिम्रो छातीमा खसेका आँसुहरू
आज पनि न्याय खोज्दै रुन्छन्।
तिमीले देख्यौ— सत्ताका गाडीहरू गुडेको,
नाराका स्वरहरू दबाइएको,
अधिकार माग्ने हातहरू
कहिलेकाहीँ पछाडि फर्काइएको।
तर तिमीले यो पनि देख्यौ—
निराश मन फेरि उठेको,
थाकेका पाइला फेरि चलेको,
हारेजस्तो देखिएको आवाजले
नयाँ बिहानको गीत गाएको।
माईतीघर१ तिमी केवल सडकको चोक होइनौ,
तिमी त जनताको खुला डायरी हौ,
जहाँ लेखिएका छन् पीडाका अक्षर,
जहाँ पोखिएका छन् आँसुका कहानी,
जहाँ प्रत्येक नाराभित्र लुकेको छ
एउटा अधुरो जिन्दगानी।
बेगम थापा ूनिश्चलू