सोमवार, अशोज १२, २०८३
सोमवार, अशोज १२, २०८३

“ओ ब्युटी रारा”

  • सोमवार, अशोज १२, २०८३
“ओ ब्युटी रारा”

कवि म वि वि शाहले राराको डिलमा बसेर लेखे — हिमालमा नेपालमा कहाँबाट  झरयौ तिमी स्वर्गकी अप्सरा रारा !

उकालो बाटो छिचोल्दै गर्दा मध्यान्ह ढल्किसकेको थियो। करिब तीन बजेतिर रारा तालको पूर्वी किनारमा पुगियो। अगाडि देखिएको निलो रारा तालले यात्राको थकान एकाएक भुलाइदियो।

रोजिता पहिलो नजरमै राराको निलो स्वरूप देखिन्। उनी उत्साहित भइन्। उनको रारा भ्रमण पहिलो थियो । कस्तो होला रारा उनको मनमा उकालोको थकान भन्दा राराको खुल्दुली घुमिरहेको थियो ।

“आहा दाइ, रारा!” भन्दै उनले क्यामेराको सटर लगातार दबाउन थालिन्।

तालको किनारैकिनार केही पर पुगेपछि निलो पानीमा सूर्यको किरण टल्किरहेको अद्भुत दृश्य देखियो। पानीमाथि मोती चम्किएझैं लाग्थ्यो। प्रकृतिको यही अनौठो दृश्यले रोजिताको ध्यान तान्यो। उनले क्यामेरा निकालेर लगातार तस्वीर खिच्न थालिन्।

“दाइ, हेर्नुहोस् त, आहा! क्या राम्रो मोती टल्केको रारा,” उनले उत्साहित हुँदै भनिन्, “यो फोटो म मेरा सबै साथीहरूलाई देखाउँछु।”

राराको सामान्य सौन्दर्य धेरैले देखेका होलान्। तर तालको निलो सतहमाथि मोतीझैँ टल्किएको यो दृश्य भने कमैले देखेका हुन सक्छन्।

“ल दाइ, यस्तै फोटो खिच्नुहोस् त,” भन्दै उनले क्यामेरा मेरो हातमा थमाइन्।

मैले तालमा टल्किएको मोतीझैँ चमकको तस्वीर खिचेँ। तर उनलाई चित्त बुझेन। अन्ततः उनले आफैँ क्यामेरा समातिन् र करिब एक दर्जन तस्वीर खिचिन्। निलो तालमा चम्किरहेको सूर्यको प्रकाशलाई उनले क्यामेरामा कैद गरिन्।

रारामा यस्तो दृश्य देख्न पाइन्छ भन्ने उनले सोचेकी पनि थिइनन्।

मध्यान्हतिर सूर्य चुचुमारे लेकतिर ढल्किँदै जाँदा तालमा मोती टल्किएझैँ देखिने स्थानीयको भनाइ छ। यस्तो आश्चर्यलाग्दो दृश्य हेर्न राराको किनारमा केही समय कुर्नुपर्छ।

रारा हरेक घण्टाजसो आफ्नो रूप फेरिरहन्छ। कहिले निलो, कहिले खैरो। मध्यान्हपछि तालको बीच भागबाट उठेका पानीका तरङ्गहरू किनारातिर फैलिँदै जाँदा यसको स्वरूप झनै आकर्षक देखिन्छ।

पहिलोपटक रारा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई यसको प्राकृतिक सौन्दर्यले लोभ्याउने गरेको छ। राराबाटै प्रसिद्ध धार्मिकस्थल छायाँनाथको अवलोकन गर्न सकिने भएकाले यसको धार्मिक महत्व समेत जोडिएको छ ।
रारालाई धार्मिय पर्यटकियस्थलमा बिमास गर्नु पर्ने मुर्मा गाउ“का स्थानीयको जोड छ । ताल वरपर आधा दर्जन महादेवका मन्दिर छन रारा बाट छाया“नाथ अबलोकन गर्न सकिने मुर्माका बिर्ख रोकाया बताउछन ।

तालमा फड्किरहेका हाँसका तस्वीर खिच्न पनि रोजिता उत्तिकै उत्साहित थिइन्। फोटो खिच्दाखिच्दै थाकेपछि उनले अचानक प्रश्न गरिन्

“दाइ, यस्तो ठाउँमा रारा कसरी बन्यो होला?”

यो प्रश्नसँगै राराको प्रकृति र इतिहासबारे कुराकानी सुरु भयो।

केही समयपछि रारा हुटुस्थित गेस्ट हाउस पुगियो। त्यहाँ हनिमुन मनाउन जुम्लाबाट तीन दिन हिँडेर रारा पुगेका स्वीजरल्यान्डका नागरिक नर्स अन्ना र इन्जिनियर क्रिस्टिअन भेटिए ।

रोजिताले उनीहरूलाई सोधिन्, “रारा कस्तो लाग्यो?”

अन्नाको अनुहारमा खुसी छायो।

“ओ ब्युटी रारा, ओ ब्युटी रारा!” भन्दै उनले राराको प्रशंसा गरिन्। नेपालबाट फर्किएपछि आफ्नो देशका नागरिकलाई रारा घुम्न जान आग्रह गर्ने उनले हाँस्दै बताइन्।

विवाह भएको ३० वर्षपछि उनीहरू रारामा हनिमुन मनाउन आएका थिए। चारैतिर हरियाली र रूखहरूले घेरिएको र बीचमा आधा आकाश खसेझैँ देखिने निलो तथा कञ्चन ताल। यही मनमोहक दृश्यमा अन्ना र क्रिस्टिअन रमाइरहेका थिए।

राराको विशालता र शान्त सौन्दर्यले मनलाई हलुका बनाउँछ। रारा मुगुबासीको मात्रै सम्पत्ति होइन, राष्ट्रिय महत्व बोकेको पर्यटकीय गहना हो।
यसको व्यवस्थित विकास र पर्यटन प्रवद्र्धन गर्न सके विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बन्न सक्ने स्थानीयको विश्वास छ। तर राज्यले राराको पर्यटन सम्भावनालाई अपेक्षित रूपमा उपयोग गर्न नसकेको गुनासो छ।

समुद्री सतहबाट करिब २ हजार ९ सय ९० मिटर उचाइमा रहेको राराको आफ्नै लोककथा छ। बुढापाकाहरूका अनुसार कुनै बेला एक बाजी भीख माग्दै हिँडिरहेका बेला बाटोमा उनको हातमा झुन्डिएको चिण्डो उछिट्टिएर फुट्यो र त्यही ठाउँमा पानी भरिँदै गएर रारा ताल बनेको हो।

धार्मिक मान्यताअनुसार रारा छायाँनाथ शिव–पार्वतीले पूजाका लागि राखेको पानीको ओमखरा हो।

राराको अर्को विशेषता यसको विशाल आकार हो। डुङ्गा चढेर सेनाको क्याम्पबाट पारि मिलिचौर पुग्न करिब तीन घण्टा लाग्छ। तालको वरिपरि एक फन्को मार्न करिब छ घण्टा लाग्ने स्थानीयहरू बताउँछन्। राराको लम्बाइ करिब पाँच हजार मिटर, चौडाइ तीन हजार मिटर र गहिराइ १ सय ६७ मिटर रहेको बताइन्छ।

ऋतु फेरिएसँगै राराको सौन्दर्य पनि फेरिन्छ। चैत–वैशाखमा वरिपरिका डाँडाकाँडा लालीगुराँसका ढकमक्क फूलले रंगिन्छन्। त्यतिबेला रारा बेहुलीझैँ देखिन्छ। हिमपातको समयमा चारैतिरका रूख कपास फुलेझैँ सेताम्मे हुन्छन् र बीचमा निलो कञ्चन ताल अझै आकर्षक देखिन्छ।

रुखमा जमेको हिउँ चराहरूले खसाल्दा तालतिर आउने आवाजले यात्रुलाई थप आनन्दित बनाउँछ। असार–साउनमा फुल्ने सप्तरङ्गी फूलले राराको सौन्दर्यमा अर्को रंग थप्छ।

रारा प्राकृतिक विविधताको भण्डार पनि हो। यहाँ विश्वमै दुर्लभ मानिने असला जातको माछा, रानी ट्राउट र विभिन्न प्रजातिका भ्यागुता पाइने बताइन्छ। डाँफे, कालिज, लाटोकोसेरो, ढुकुर, चिल र हाँस लगायत करिब तीन सय प्रजातिका चराहरू यहाँ पाइन्छन्।

कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु र रतुवालगायत वन्यजन्तु पनि रारा क्षेत्रमा पाइन्छन्। गुच्ची च्याउ, पाँचऔँले, जटामसीलगायत करिब १८ किसिमका जडीबुटी पाइने राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

तर यति ठूलो प्राकृतिक सम्पदासँगै राराले पर्यटन पूर्वाधारको अभाव पनि झेलिरहेको छ।

राष्ट्रिय निकुञ्जका अनुसार रारामा वर्षेनी आउने विदेशी पर्यटकको संख्या करिब ६० देखि १ सय २० सम्म रहने गरेको छ। पर्यटन प्रवद्र्धनका लागि सरकारले बजेट विनियोजन गर्दै आएपनि सो जस्तो छैन बिकास रारामा । जुन मुर्मावासीको रारा प्रतिको बिकास आसा मर्दै गएको छ । २०३२ सालमा सरकारले स्थानीयलाई हटाएर निकुञ्ज घोषणा गरेको रारा उहिले देखि अहिले सम्म उस्तै छ ।

भरपर्दो हवाई सेवा नहुँदा पनि स्वदेशी तथा विदेशी पर्यटकलाई रारा पुग्न कठिनाइ हुने गरेको छ। स्थानीय पर्यटन व्यवसायीहरू भरपर्दो हवाई सेवा र ताल क्षेत्रमा कम्तीमा पाँचवटा सुविधायुक्त होटल सञ्चालनमा ल्याउन सके पर्यटक आगमन बढ्ने अपेक्षा गर्छन्।

रारा ताल छेउवरपर माझघट्टमा स्थानीयस्तरका होटल भेटिन्छन्। ती होटल सुविधासम्पन्न नभए पनि सामान्य बासका लागि भने समस्या नपर्ने स्थानीयहरू बताउँछन्।

रारा केवल एउटा ताल होइन—यो समयअनुसार रंग बदल्ने प्रकृतिको चित्र हो। बिहानको निलोपनदेखि मध्यान्हको मोतीझैँ चमकसम्म, लालीगुराँसको रातोपनदेखि हिमपातको सेतो चादरसम्म रारा हरेक ऋतुमा नयाँ रूप लिएर उभिन्छ।

सायद यही कारणले होला, पहिलोपटक रारा पुग्ने रोजिता जस्ता पर्यटकदेखि विवाहको तीन दशकपछि हनिमुन मनाउन आएका अन्ना र क्रिस्टिअनसम्म सबैको मुखबाट एउटै शब्द निस्किन्छ “ओ ब्युटी रारा!” प्राकृतिले दिएको अनुपम सन्दर रारालाई मुगुबासीले उपभोग गर्न सकेनन मान्छेको जीवन फेरियो अनुहार फेरिए तर राराको मुहार फेरिन । कस्तो रारा । उस्तै रारा तिम्रो मनमा रारा मेरो मनमा रारा यस्तै उस्तै कथन शब्दले मात्र भरिएको रारा ।

चर्चामा

सम्बन्धित समाचार