काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र प्रकृतिप्रतिको सम्मानको सन्देश दिने बताएका छन्।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा रहेको छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै ऋग्वेदमा उषा देवीको सुन्दर स्तुति गरिएको बताएका छन्। वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा समेत प्रतिबिम्बित भएको उनको भनाइ छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने सभापति थापाले उल्लेख गरेका छन्।उनले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस् भन्ने कामना गरेका छन्।