काठमाडौ —सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत लैजाने योजना स्थगित गरिएको छ ।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएपछि तत्काल भारत लैजाने योजना स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो ।
तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि उनलाई भारत लैजाने योजना तत्कालका लागि स्थगित गरिएको छ । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी आफैले आफ्नो शरीरमा आगो लगाएका नेपाली दिउँसो ३ बजे वीर अस्पतालमा ल्याइएको थियो ।