नजलाऊ मनका वनहरू,
क्रोधको ज्वाला बोकेर।
घृणाको आगो सल्कँदा
पहिले आफ्नै आँगन खरानी बन्छ।
हिमालले कहिल्यै सोध्दैन—
“तिम्रो जात के हो?“
नदीले कहिल्यै छेक्दैन—
“तिम्रो धर्म कुन हो?“
सूर्यले कहिल्यै छुट्याउँदैन—
“तिम्रो भाषा के हो?“
प्रकृतिको यही पाठ
मानवले किन बिर्सियो?
नेपाल आमा
सगरमाथाको शिर उचालेर
हामीलाई एउटै काखमा हुर्काउँछिन्।
कसैलाई मन्दिरको घण्टी,
कसैलाई मस्जिदको अजान,
कसैलाई गुम्बाको मन्त्र,
कसैलाई चर्चको प्रार्थना बनाइन्।
तर सबैको मुटुमा
एउटै प्रेमको धड्कन रोपिदिइन्।
इन्द्रेणीका रङहरू
एक–अर्कासँग झगडा गर्दैनन्,
बरु मिलेर आकाश सजाउँछन्।
फूलहरू बगैँचामा
प्रतिस्पर्धा होइन,
सुगन्धको उत्सव मनाउँछन्।
हामी पनि त्यस्तै बनौँ—
भिन्न भएर पनि अभिन्न।
कसैले यदि
घृणाको विष छर्छ भने,
हामी प्रेमको अमृत बनौँ।
कसैले यदि
फुटको बीउ छर्छ भने,
हामी विश्वासको वन रोपौँ।
कसैले यदि
रिसको आँधी ल्याउँछ भने,
हामी शान्तिको दीप बनौँ।
नेपालको माटो
सबैको पाइतालाको धुलो हो,
नेपालको आकाश
सबैको सपनाको छाता हो।
नेपालको झण्डा
कुनै एक समुदायको होइन,
सिङ्गो राष्ट्रको आत्मा हो।
आऊ,
हातमा हात जोडौँ,
मनमा मन गाँसौँ।
घृणाका पर्खालहरू भत्काएर
मायाका पुलहरू बनाऔँ।
सन्देहका काँडाहरू उखेलेर
विश्वासका फूलहरू फुलाऔँ।
किनकि—
नेपाल तब मात्र सुन्दर हुन्छ,
जब मन्दिरको घण्टी,
मस्जिदको अजान,
गुम्बाको मन्त्र
र चर्चको प्रार्थना
एउटै शान्तिको स्वर बनेर
नेपाल आमाको काखमा गुञ्जन्छ।
आऊ,
हामी सबै मिलेर
मानवताकै धर्म मानौँ,
सद्भावनाको माला गुथौँ,
शान्तिको दीप जलाऔँ,
र एक स्वरले भनौँ—
“हामी सबै नेपाल आमाका सन्तान हौँ।
हाम्रो जात–धर्म फरक हुन सक्छ,
तर हाम्रो मुटु, हाम्रो माटो
र हाम्रो भविष्य एउटै—नेपाल हो।“
लेखक बेगम थापा “ निश्चल“