बिहिबार, मंसिर ११, २०८३
बिहिबार, मंसिर ११, २०८३
  • होमपेज
  • News
  • मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, १७ मन्त्रीको जिम्मेवारी तोकियो

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, १७ मन्त्रीको जिम्मेवारी तोकियो

  • बिहिबार, मंसिर ११, २०८३
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, १७ मन्त्रीको जिम्मेवारी तोकियो

काठमाडौ –राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम कायम गरिएको जनाएको हो।

नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, तेस्रो वरीयतामा रहेकी सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला, चौथो वरीयताका शिशिर खनाललाई परराष्ट्र र पाँचौँ वरीयताका विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ। गौतम यसअघि मन्त्रिपरिषद्को सातौँ वरीयतामा थिइन्।

यसैगरी छैटौँ वरीयताका सुधन गुरुङलाई गृह, सातौँ वरीयताका सुनिल लम्साललाई पूर्वाधार विकास र आठौँ वरीयताका महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अन्य मन्त्रीहरूमा सीता बादीलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, प्रतिभा रावललाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निशा मेहतालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, खडक राज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण, दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार २०८२ चैत १३ गते गठन भएको मन्त्रिपरिषद्को मर्यादाक्रम प्रधानमन्त्रीको सिफारिसमा हेरफेर गरिएको हो।

चर्चामा

सम्बन्धित समाचार