हुम्ला — प्रतिनिधि सभा सदस्य एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हुम्ला पुगेका छन । उनी सुर्खेतबाट पैदल मार्ग हुँदै हुम्लाको दक्षिणी क्षेत्रमा पर्ने अदानचुली गाउँपालिका आइपुगेका हुन् ।
सुर्खेतबाट दुई दिनको पैदल यात्रापछि हुम्ला पुगेका साम्पाङ अदानचुली हुँदै सर्केगार्ड गाउँपालिका–२ स्थित खडीखेततर्फ जाने कार्यक्रम रहेको छ। खडीखेतस्थित कर्णाली नदीमा मानिसहरू जोखिमपूर्ण रूपमा तुइनबाट तर्न बाध्य भएको समाचार बाहिरिएपछि उनले सो स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।
सोही प्रतिबद्धता पूरा गर्ने सिलसिलामा उनी हुम्ला पुगेका हुन्। उनी बुधबार खडीखेत पुग्ने कार्यक्रम छ। तर, उक्त स्थानमा ’कादुरी’ नामक गैरसरकारी संस्थाले पहिल्यै झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।
हुम्ला पुगेपछि स्थानीयसँगको भेटघाटका क्रममा सांसद साम्पाङले मुलुकमा जनसंख्याको न्यायोचित र समान वितरण हुनुपर्नेमा बताएका छन ।
हिमाली तथा दुर्गम ग्रामीण क्षेत्रमा मानिसहरूको बसोबास निकै पातलो रहेको उल्लेख गर्दै साम्पाङले “सरकारले दिने सेवा–सुविधाहरू सबै ग्रामीण क्षेत्रमा मानिसहरूलाई बढी प्राथमिकता दिनु पर्ने जोड दिएका छन ।