सोमवार, कार्तिक १०, २०८३
सोमवार, कार्तिक १०, २०८३
  • होमपेज
  • पत्रपत्रिका
  • कर्णाली जुम्लामा सीमान्त साहित्य सम्मेलन हुने

कर्णाली जुम्लामा सीमान्त साहित्य सम्मेलन हुने

  • आइतवार, कार्तिक ९, २०८३
कर्णाली जुम्लामा सीमान्त साहित्य सम्मेलन हुने

मुगु –  जुम्ला — जुम्लामा ’सीमान्त साहित्य सम्मेलन’ आयोजना हुने भएको छ। कुटिरो रिसर्च प्रा.ली.को आयोजनामा जुम्लास्थित होटल काञ्जिरोवामा उक्त भोली बाट सम्मेलन सञ्चालन हुन लागेको हो। ‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ भन्ने मूल अवधारणामा आधारित यस सम्मेलनको प्रमुख उद्देश्य कर्णाली लगायत देशका विभिन्न सीमान्तकृत भूगोल, समुदाय, भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा स्थानीय ज्ञानलाई राष्ट्रिय साहित्यिक र बौद्धिक विमर्शसँग जोड्नु रहेको आयोजकले जनाएको छ।
कर्णालीको मौलिक भाषा, देउडा, लोकगीत, परम्परागत ज्ञान र जीवनपद्धतिको संरक्षण तथा प्रवर्धन गर्ने साझा अभियानका रूपमा यो सम्मेलनलाई अघि बढाइएको हो।

सम्मेलनको उद्घाटन समारोह कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको विशेष उपस्थिति तथा आतिथ्यतामा सम्पन्न हुनेछ। सोही उद्घाटन सत्रमा कुटिरो रिसर्च सेन्टरले प्रकाशन गरेको लेखक लक्ष्मण बहादुर शाहीको नयाँ पुस्तक ‘आधा अध्याय’ को गृह विमोचन (होम विमोचन) समेत गरिने कार्यक्रम रहेको छ।

सम्मेलनमा देशभरका ख्यातिप्राप्त साहित्यकार, लेखक, अध्येता, अनुसन्धानकर्ता, प्राध्यापक, पत्रकार तथा स्थानीयको उल्लेख्य सहभागिता रहनेछ। कार्यक्रमअन्तर्गत विषयगत बहस, विचारपत्र प्रस्तुति, कविता वाचन, साहित्यिक संवाद, स्थानीय भाषा तथा लोकसाहित्यसम्बन्धी प्रस्तुति, र युवा तथा विद्यार्थीहरूबीच अन्तरक्रिया लगायतका विविध सत्रहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

दसैँको रौनकसँगै साहित्य सम्मेलनको माहोल
हालै सम्पन्न बिजयादशमीका अवसरमा यस क्षेत्रमा मात्र टीका नलगाई आफन्त, छरछिमेक र सिङ्गो गाउँभरि नै पुगेर टीका–जमरा र आशिर्वाद आदानप्रदान गरी दसैँ मनाइएको छ।
सेलरोटी, खिर, काँक्राको अचार लगायत विविध परिकारहरू बनाएर सबैजना सँगै बसेर खाने परम्पराले स्थानीयवासीबीच भाइचाराको सम्बन्ध थप बलियो बनाएको छ।
विशेष गरी लेकाली पाटनमा चरेका खसीको मासु र रातो मार्सी धानको भातलाई दसैँको मुख्य आकर्षण र स्वादिष्ट भोजनका रूपमा लिइएको छ।

यस्तै सांस्कृतिक र चाडपर्वको रौनकसँगै हुन लागेको सीमान्त साहित्य सम्मेलनले जुम्ला र सिङ्गो कर्णालीको बौद्धिक तथा साहित्यिक माहोललाई अझ उकास्ने अपेक्षा गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार