मुगुको नाम सुन्नेबित्तिकै धेरैको आँखाअघि रारा तालको निलो पानी नाच्न थाल्छ। पर्यटकको मनमा पनि रारा नै पहिलो रोजाइ बन्दै आएको छ। तर अब राराले मात्रै पर्यटकको मन जितेर पुग्ने अवस्था छैन। नजिकै रहेको चंखेली लेकले पनि हिमालको शिरबाट रारालाई जिस्क्याउन थालेको छ। चंखेलीले भनिरहेको छ– ‘रारा तिमी पानीमा सुन्दर देखिन्छौ, म त चार हजार दुई सय मिटरमाथि उभिएर हिमालसँगै रमाउँछु !’
कुनै बेला गोठाला र गाईभैँसी, भेडाबाख्राको चरन क्षेत्रका रूपमा चिनिने चंखेली लेक अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। सडकको पहुँच विस्तारसँगै गोठालाको पाइला पर्ने चंखेलीमा अहिले पर्यटकका पाइला, मोबाइलका क्यामेरा र टिकटकका दृश्यहरू थपिन थालेका छन्।
छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँमा पर्ने समुद्री सतहदेखि करिब चार हजार दुई सयदेखि चार हजार दुई सय १० मिटर उचाइको चंखेली लेक मुगु र हुम्लाको सिमानानजिक अवस्थित छ। यहाँबाट देखिने हिमाल, पहाड र प्राकृतिक मनोरम दृश्यले पर्यटकलाई एकपटक पुगेपछि फेरि फर्केर आउन मन लाग्ने बनाउने गरेको छ।
सडक पहुँच विस्तार भएपछि गमगढीदेखि चंखेलीको फेदीसम्म जीप, मोटरसाइकललगायत सवारीसाधन पुग्न थालेका छन्। पहिले गोठालाले मात्रै चिनेको बाटो अहिले घुमफिरका पारखीले पनि चिन्न थालेका छन्। प्रकृतिले दिएको सौन्दर्यमा सडकले पहुँच थपेपछि चंखेलीको चर्चा पनि बढ्न थालेको हो। छायाँनाथ रारा नगरपालिका–१४ का वडाध्यक्ष जुनबहादुर खड्काका अनुसार पछिल्ला दुई वर्षयता चंखेली लेक आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ। नयाँ वर्षको अवसरमा मात्रै करिब तीन सयभन्दा बढी आन्तरिक पर्यटक चंखेली पुगेको उनले बताए।
‘पहिले यहाँ स्थानीयका गाईभैँसी र भेडाबाख्रा चराउन जाने युवाहरू मात्रै पुग्थे। अहिले सडक बनेपछि विभिन्न क्षेत्रका मानिस सवारीसाधन लिएर घुम्न आउन थालेका छन्,’ वडाध्यक्ष खड्काले भने।
चंखेली पुग्ने यात्रा पनि कम रोमाञ्चक छैन। सदरमुकाम गमगढीदेखि सवारीसाधनमा करिब तीन घण्टाको यात्रापछि चंखेलीको फेदी पुगिन्छ। त्यसपछि सुरु हुन्छ पैदल यात्राको परीक्षा। फेदीबाट चुचुरो पुग्न करिब दुई घण्टा ४५ मिनेट लाग्छ। अर्थात् गमगढीदेखि चंखेलीको टुप्पोसम्म पुग्न झन्डै पाँच घण्टा समय खर्चिनुपर्छ।
तर उकालो चढ्दाको पसिना चुचुरोमा पुगेपछि देखिने दृश्यले बिर्साइदिन्छ। त्यहाँबाट साइपाल, काञ्जिरोवा हिमाल, रारा ताल, छायाँनाथ धाम, ऋणिमोक्षलगायत मुगु, हुम्ला, बाजुरा र जुम्लाका विभिन्न हिमाली दृश्य अवलोकन गर्न सकिन्छ।
रारालाई पानीको सुन्दरताले पर्यटक तान्ने सुविधा छ भने चंखेलीलाई हिमालको उचाइ र चारैतिर फैलिएको प्राकृतिक दृश्यले साथ दिएको छ। त्यसैले चंखेली पुगेपछि पर्यटकको क्यामेराले रारालाई पनि टाढैबाट सम्झन भ्याउँछ।
चंखेली घुम्न बिहानको समय उपयुक्त मानिन्छ। स्थानीयका अनुसार बिहान ६ बजेतिर उकालो लागेर दिउँसो १२ देखि १ बजेसम्ममा फर्किसक्नु राम्रो हुन्छ। दिउँसो हावाहुरी चल्ने सम्भावना भएकाले समयमै यात्रा गर्नु आवश्यक छ।
चुचुरोमा पुगेपछि कसैलाई हिमालसँग सेल्फी खिच्ने हतार हुन्छ, कसैलाई टिकटक बनाउनुपर्ने चटारो। कोही साथीभाइसँग नाचगानमा रमाउँछन् त कोही घरबाट बोकेर लगेका खानेकुरा खोल्दै भोजको माहोल बनाउँछन्। प्रकृतिको काखमा करिब दुई घण्टा बिताएर पर्यटकले चंखेलीको सुन्दरतालाई मोबाइल र क्यामेरामा कैद गर्ने गरेका छन्।
चंखेलीको सुन्दरता मौसमसँगै फेरिन्छ। वर्षा र हिमपातपछि सेताम्मे बन्ने लेकको दृश्यले झन् आकर्षण थप्छ। चैतदेखि वैशाखसम्म गमगढीदेखि चंखेली जाने सडकका तलमाथि फुल्ने राताम्मे लालीगुराँस, हरिया वनजंगल र टाढा देखिने हिमालले यात्रालाई थप रमणीय बनाउँछन्।
चंखेलीको आकर्षण हिमाल र पहाडमा मात्रै सीमित छैन। वर्षायाममा बाम, दख्यालबाडा र फोइपाटालगायत गाउँका स्थानीयले गाईभैँसी खर्कमा लैजाने गर्छन्। त्यतिबेला पर्यटकले स्थानीय उत्पादनका दही, मही, खिर र घ्यूको स्वाद लिन पाउँछन्। असोज–कात्तिकमा बाम गाउँका घरआँगनमा पाक्ने स्याउ पनि पर्यटकका लागि मीठो कोसेली बन्ने गरेको छ।
मुगु कर्णाली नदी र लुमखोलाका माछा, स्थानीय सिमी र चुली आरुको स्वादले चंखेलीको यात्रालाई अझै विशेष बनाउँछ। यहाँ पुग्ने पर्यटकले हिमाल हेर्ने मात्रै होइन, स्थानीय खानपान, उत्पादन र ग्रामीण जीवनशैलीको स्वादसमेत लिन पाउँछन्।
यति धेरै प्राकृतिक र सांस्कृतिक सम्भावना बोकेको चंखेलीलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन सके स्थानीय अर्थतन्त्रमा समेत नयाँ ऊर्जा थपिने देखिन्छ। पर्यटकको आवागमन बढ्दा स्थानीय उत्पादनको बजारीकरण, होटल तथा होमस्टे सञ्चालन र रोजगारीका अवसरसमेत विस्तार हुन सक्छन्।
मुगुको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न आउने धेरै पर्यटक रारा अवलोकनपछि फर्किने गरेका छन्। तर रारासँगै चंखेलीलाई पनि पर्यटकीय प्याकेजमा जोड्न सके पर्यटकको बसाइ लम्ब्याउन र मुगुको पर्यटनलाई नयाँ उचाइ दिन सकिने पर्यटन व्यवसायीहरूको भनाइ छ।
तर चंखेलीले पर्यटक बोलाउन थाले पनि स्वागत गर्ने पूर्वाधार भने अझै पर्याप्त छैनन्। सुरक्षित पदमार्ग, विश्रामस्थल, शौचालय, खानेपानी, फोहोर व्यवस्थापन, सूचना तथा संकेत बोर्ड र आपत्कालीन उद्धारको व्यवस्था आवश्यक छ। स्थानीय होटल तथा होमस्टेको गुणस्तर सुधार र स्थानीय उत्पादनको बजारीकरणमा पनि ध्यान दिनुपर्ने देखिन्छ।
प्रकृतिले चंखेलीलाई हिमाल, पहाड, वनजंगल र मनोरम दृश्य सबै दिएको छ। अब आवश्यक छ तिनको संरक्षण, पूर्वाधार विकास र व्यवस्थित प्रचारप्रसार रहेको छ ।
राराले मुगुको नाम विश्वभर चिनाएको छ भने चंखेलीले अब मुगुको पर्यटनमा अर्को अध्याय थप्ने संकेत गरिरहेको छ। रारा तालको पानीमा मात्रै मुगुको सुन्दरता खोज्ने पर्यटकलाई चंखेलीले अग्लो टुप्पोबाट निम्तो दिइरहेको छ । शब्द राजबहादुर शाही / तस्विर दानबहादुर बुढा मुगु