आइतवार, कार्तिक १६, २०८३
आइतवार, कार्तिक १६, २०८३
  • होमपेज
  • News
  • काठमाडौं कथा नै कथामा बाँचेको सहर हो : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं कथा नै कथामा बाँचेको सहर हो : कार्यवाहक प्रमुख डंगोल

  • आइतवार, कार्तिक १६, २०८३
काठमाडौं कथा नै कथामा बाँचेको सहर हो : कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं कला, संस्कृति, भाषा र परम्पराले समृद्ध कथा नै कथामा बाँचेको सहर भएको बताएकी छन्।

काठमाडौं फिल्म फेस्टिभल २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले चलचित्र समाजका कथा, संस्कृति र समुदायलाई जोड्ने सशक्त माध्यम भएको विचार व्यक्त गरिन्। चलचित्रले मनोरञ्जन मात्र नभई समाजको पहिचान, इतिहास र सांस्कृतिक जीवनलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

सम्बोधनका क्रममा डंगोलले आफ्नो बाल्यकालका अनुभूति र स्मरणहरूसमेत साटेकी थिइन्। आफू करिब पाँच वर्षको छँदा नेपाल भाषामा निर्मित पहिलो चलचित्र ‘सिलु’ हेरेको स्मरण गर्दै उनले त्यसले बाल्यकालमै आफ्नो सोच र मनोविज्ञानमा गहिरो प्रभाव पारेको बताइन्। गोसाइँकुण्ड तीर्थयात्रामा जाने प्रेमी जोडीको कथामा आधारित उक्त चलचित्र हेरेपछि सानो उमेरमै श्रीमान्सँग गोसाइँकुण्ड नजाने सोच बनाएको रोचक प्रसंग सुनाउँदै उनले चलचित्रको सामाजिक तथा मनोवैज्ञानिक प्रभावबारे चर्चा गरिन्।

साथै, बाल्यकालमा घरमा टेलिभिजन नभएका कारण शनिबार दिउँसो छिमेकीको घरमा परिवार र समुदायका मानिसहरूसँगै बसेर चलचित्र हेर्ने गरेको अनुभव पनि उनले साटिन्। चलचित्र हेर्नु कथा हेर्नु मात्र नभई परिवार र समुदायबीच सामूहिकता, सद्भाव र भावनाहरू साटासाट गर्ने अवसर भएको उनले उल्लेख गरिन्।

कार्यवाहक प्रमुख डंगोलले काठमाडौंका मौलिक कथा, कला, संस्कृति र अमूल्य सम्पदालाई चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न सकिने र यसका लागि चलचित्र क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरिन्।

चर्चामा

सम्बन्धित समाचार