काठमाडौं कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको चौर। तीन दिनको झरीले खुलेको मौसम । निलो आकास हरियाली जमिन । बिहानको चिसो सिरेटो विस्तारै कम हुँदै जान्छ। घामका किरणले चौरलाई न्यानो बनाउन थाल्छन्। त्रिविको भूमिमा कोही किताबका पाना पल्टाइरहेका छन्, कोही नोट बनाइरहेका छन् त कोही मोबाइलमा पाठ्यसामग्री खोजीरहेका छन् ।
हजारौँ युवायुवतीका सपना बोकेको त्रिविको परिसरमा हरेक दिन देखिने यो दृश्यभित्र एउटा दुर्गम युवाको अनुहार भने छुट्टै संघर्षको कथा बोकेर बसिरहेको छ। ती हुन् मुगुको सोरु गाउँपालिका–८, कच्चेगाउँका ३४ वर्षीय कलबहादुर कार्की । कहिले त्रिविको पुस्तकालयमा किताबका पानासँग हराइरहेका हुन्छन् त कहिले चौरमा पारिलो घाम ताप्दै शिक्षक सेवा आयोगको पाठ्यक्रम घोकिरहेका हुन्छन्। बिहान झिसमिसे उज्यालो नहुँदै पुस्तकालय पुग्ने कार्की साँझसम्म अध्ययनमै व्यस्त हुन्छन्। उनको हातमा किताब हुन्छ, आँखामा स्थायी शिक्षक बन्ने सपना र मनमा दुई बर्ष देखिको एउटा अधुरो लक्ष्य पूरा गर्ने उनको हुटहुटी।
काठमाडौंका लागि उनी एउटा सामान्य परीक्षार्थी मात्र हुन्। तर मुगुको दुर्गम बस्तीबाट शिक्षक बन्ने सपना बोकेर यहाँसम्म आइपुग्न उनले पार गरेको बाटो भने सामान्य छैन। परिवारसँग दसैँ मनाउन गाउँ पुगेका कार्की निधारको टीका र जमराको रङ नसेलाउँदै फेरि काठमाडौं फर्किए। चाडपर्वको रमझम, परिवारसँगको आत्मीयता र गाउँघरको मायाभन्दा ठूलो प्राथमिकता अहिले उनका लागि प्रावि र निमावितहको शिक्षक सेवा आयोगको तयारी बनेको छ। उनलाई थाहा छ, यो यात्रामा केही समय परिवारबाट टाढिनुपर्छ, व्यक्तिगत रहरहरू थाती राख्नुपर्छ र दिनरात किताबसँगै बिताउनुपर्छ। तर उनको विश्वास छ– एक दिन यही मेहनतले स्थायी शिक्षक बन्ने सपना पूरा हुनेछ ।
अस्थायी शिक्षकबाट स्थायी बन्ने सपना
कलबहादुरले २०६४ सालमा मुगुबाटै एसएलसी उत्तीर्ण गरे। त्यसको दुई वर्षभित्रै कक्षा १२ को अध्ययनसमेत पूरा गरे। पढाइलाई निरन्तरता दिँदै उनी सोरु जिमा गाउँमै करिब दुई वर्ष प्राथमिक तहको अस्थायी शिक्षक बनेर विद्यार्थीहरूलाई पढाए ।कक्षाकोठामा उभिएर बालबालिकालाई अक्षर चिनाउँदा र उनीहरूको भविष्य निर्माणमा योगदान पु¥याउँदा उनले शिक्षक पेसाको महत्व नजिकबाट अनुभूति गरे। गाउँका बालबालिकाको शैक्षिक अवस्था, दुर्गम क्षेत्रमा शिक्षकको आवश्यकता र शिक्षण पेसाले समाजमा पार्ने प्रभावले उनलाई स्थायी शिक्षक बन्न प्रेरित ग¥यो ।
तर अस्थायी रूपमा पढाउनु र स्थायी शिक्षक बन्नुबीच ठूलो अन्तर थियो। स्थायी शिक्षक बन्न शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्नैपर्ने बाध्यता थियो। त्यसपछि उनले काठमाडौं आउने र आयोगको तयारी गर्ने निर्णयमा पुगे ।
दुई वर्षदेखि उनी कीर्तिपुरमा अस्थायी डेरा लिएर बसिरहेका छन्। प्राथमिक र निम्न माध्यमिक तहको शिक्षक सेवा आयोगलाई लक्ष्य बनाएर उनले आफ्नो सम्पूर्ण समय अध्ययनमै बिताएका छन ।
सुरुमा उनी काठमाडौंको बागबजारमा बसेर एक वर्षसम्म शिक्षक सेवा आयोगको ट्युसन पढे। त्यहाँबाट परीक्षासमेत दिए। तर अपेक्षित सफलता हात लागेन। असफलताले उनलाई केही समय निराश बनाए पनि लक्ष्यबाट विचलित गराउन सकेन। त्यसपछि उनी कीर्तिपुर सरे। अहिले त्रिविको पुस्तकालय र चौर नै उनको अध्ययन गर्ने मुख्य थलो बनेको छ ।
तीनपटक असफलता
शिक्षक सेवा आयोगको तयारी थालेको दुई वर्ष भइसकेको छ। यस अवधिमा कार्कीले प्राथमिक र निम्न माध्यमिक तहका गरी तीनपटक परीक्षा दिइसकेका छन्। तर स्थायी शिक्षक बन्ने उनको नाम अझै निस्किएको छैन।
एकपटक निम्न माध्यमिक तहको करार सूचीमा नाम समावेश गर्न सफल भए पनि स्थायी नियुक्तिको लक्ष्य भने पूरा हुन सकेको छैन। “दुई वर्षदेखि शिक्षक सेवा आयोगको तयारी गरिरहेको छु। सफल हुन सकेको छैन। प्रावि र निमावि गरी तीनपटक परीक्षा दिइसकेँ, तर पास हुन सकिरहेको छैन,” कार्की भन्छन्, “एकपटक निमाविको करार सूचीमा भने पर्न सफल भएँ।”
उनका लागि अहिले शिक्षक सेवा आयोगको परीक्षा केवल एउटा प्रतिस्पर्धात्मक परीक्षा होइन, जीवनको महत्वपूर्ण मोड बनेको छ।पहिलेको तुलनामा अहिले आयोगको परीक्षा निकै कठिन हुँदै गएको उनको अनुभव छ। परीक्षामा प्रतिस्पर्धा गर्ने उम्मेदवारको संख्या बढेको छ। सामान्य अध्ययन र तयारीले मात्रै सफलता हात पार्न नसकिने उनी बताउँछन्।
“पहिले जस्तो सजिलो पढाइ छैन। अहिले अत्यन्तै कठिन छ। प्रतिस्पर्धा धेरै हुने भएकाले नाम निकाल्न साह्रै गाह्रो छ,” उनी भन्छन्।आयोगको तयारीमा लागेपछि आफ्नो दैनिकी नै फेरिएको उनको भनाइ छ। बिहानदेखि साँझसम्म किताब, पाठ्यक्रम र नोटमै समय बित्छ। कतिपय दिन घरपरिवारको यादसमेत पछाडि धकेलिन्छ।“यही शिक्षक सेवा आयोगबाट कसरी सफल हुने भन्ने चिन्ताले कहिलेकाहीँ भोक लाग्दैन, तिर्खा लाग्दैन। घरपरिवारको यादसमेत आउँदैन,” उनी सुनाउँछन्।उनका लागि आयोगको तयारी एउटा नशाजस्तै बनेको छ। सुरु गरेपछि सफलता प्राप्त नगरी छाड्न मन लाग्दैन। अरू साथीहरू परीक्षामा सफल भएको देख्दा निराशाभन्दा बढी आफूलाई अझै मेहनत गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने उनी बताउँछन्।
घाम ताप्दै घोक्ने दैनिकी
त्रिविको पुस्तकालयमा बिहानको समय बिताउने कार्की दिउँसो घाम लागेको बेला चौरमा बसेर अध्ययन गर्छन्। कहिलेकाहीँ घण्टौँसम्म एउटै किताब र पाठ्यक्रममा केन्द्रित हुन्छन्। शिक्षक सेवा आयोगका विभिन्न पुस्तकका पाना पल्टाउँदै महत्वपूर्ण विषयहरू दोहो¥याइरहन्छन्।
उनले आयोगका पुस्तकहरूका पानापाना कण्ठ पार्ने प्रयास गरिरहेका छन्। पाठ्यक्रमअनुसार कुनै विषय छुट्न नदिन र परीक्षामा सोधिन सक्ने प्रश्नहरूको उत्तर तयार गर्न उनी निरन्तर अभ्यास गरिरहेका छन्।दुर्गम क्षेत्रबाट आएका विद्यार्थीहरूको शैक्षिक आधार बलियो नहुन सक्ने भएकाले प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन थप मेहनत गर्नुपर्ने उनको बुझाइ छ।
“हामी दुर्गममा पढेका, आधार नै बलियो नभएका मान्छेले शिक्षक सेवा आयोग पास गर्छु भन्नु पनि ठूलो आँट हो,” उनी भन्छन्, “सामान्य पढाइले मात्रै आयोगतिर लागेर हुँदैन। यसका लागि निरन्तर मेहनत र गहिरो अध्ययन चाहिन्छ।”उनलाई आफ्नो विगतको पढाइ र तयारीप्रति केही पछुतो पनि छ। यदि पाँच वर्षअघि नै शिक्षक सेवा आयोगको तयारी थालेको भए अहिले स्थायी शिक्षक बनिसकेको हुन सक्ने उनको अनुमान छ।
“मैले शिक्षक सेवा आयोगको अध्ययन ढिलो सुरु गरेँ। पाँच वर्षअघि नै सुरु गरेको भए अहिले शिक्षक बनिसकेको हुन्थेँ होला,” उनी भन्छन्।तर बितेको समयलाई सम्झेर पछुताउनुभन्दा बाँकी समयलाई उपलब्धिमूलक बनाउने उनको प्रयास छ। यही कारण उनी यो वर्ष जसरी पनि सफल हुने अठोटका साथ अध्ययनमा जुटिरहेका छन्।
कार्कीको राजनीति पश्यताप
कलबहादुरको जीवनकथा किताब र परीक्षाको तयारीमा मात्रै सीमित छैन। उनको विगतमा राजनीतिक सक्रियताको लामो अनुभव पनि छ।२०६२ सालदेखि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएर उनी गाउँबस्तीमा संगठन विस्तार गर्ने काममा सक्रिय भए। गाउँका युवालाई संगठित गर्ने, राजनीतिक गतिविधिमा सहभागी हुने र चुनावका बेला नेताहरूलाई जिताउन दौडधुप गर्ने उनको दैनिकी थियो।
राजनीतिलाई परिवर्तनको माध्यम ठानेर सक्रिय भएका उनी अहिले भने त्यो समयको सदुपयोग गर्न नसकेको अनुभूति गर्छन्।“राजनीतिमा लागेर बेकार समय बिताइयो। उपलब्धि केही भएन। अरूलाई बनाउने काम मात्रै गरियो,” उनी भन्छन्।गाउँका दाजुभाइ तथा साथीभाइसँगै चुनावी अभियानमा खटिएर नेताहरूलाई जिताउन भूमिका खेलेको अनुभव उनीसँग छ। तर चुनावपछि आफूले सहयोग गरेका नेताहरूले कार्यकर्ताको समस्या र भावना नबुझेको उनको गुनासो छ।“दौडधुप ग¥यौँ, गाउँले दाजुभाइसँग झगडा गरेर पनि चुनाव जितायौँ। अहिले फोन गर्दा पनि उठाउँदैनन्,” उनी दुखेसो पोख्छन्।
राजनीतिक नेतृत्वले युवालाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने गरेको उनको बुझाइ छ। युवाको जोस, जाँगर र श्रम चुनाव जिताउन प्रयोग भए पनि उनीहरूको भविष्य निर्माणमा अपेक्षित ध्यान नदिइएको उनी बताउँछन्।राजनीतिक सक्रियताबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि अहिले उनी आफ्नो जीवनको बाटो बदल्ने निष्कर्षमा पुगेका छन्।
“अब सबैको कुरा बुझियो। आउँदा दिनमा फरक ढंगले प्रस्तुत हुनुपर्ने अवस्था देखेको छु,” उनी भन्छन्।राजनीतिमा बिताएको समयलाई उनी अहिले जीवनको एउटा अनुभवका रूपमा लिन्छन्। तर अबको प्राथमिकता भने स्पष्ट छ– शिक्षक सेवा आयोग उत्तीर्ण गरेर स्थायी शिक्षक बन्ने।
त्रिविमा कार्की भेटेका अनेक सपना
त्रिभुवन विश्वविद्यालयको परिसर कलबहादुरका लागि पढ्ने ठाउँ मात्र होइन, जीवनका विभिन्न अनुभव बटुल्ने थलो पनि बनेको छ। यहाँ शिक्षक सेवा आयोगको तयारी गर्ने मात्र होइन, उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थी, विभिन्न सरकारी सेवाका परीक्षार्थी र उच्च तहका कर्मचारीहरूसमेत भेटिन्छन्। अध्ययन र शैक्षिक गतिविधिका क्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाट तथा चिनजान गर्ने अवसर पनि कार्कीलाई मिलेको छ ।
पूर्वमन्त्री बद्री पाण्डे, पूर्व प्रधानमन्त्री बाबुराम भट्राई र अन्य बिशिष्ट ब्यक्ति पनि भेटने मौका मिल्यो कार्कीले भने ठूला ठूला मान्छे पनि यही पढन आउदा रैछ । यो हजारौ सपनाको भूमि रहेछ उनले सुनाए । म एउटा दुर्गम गरिव परिवारमा जन्मेको मान्छे अहिले हजारौ सपनाको भूमि बसेर आफनो सपना पुरा गर्ने लक्ष्यमा छु उनले सुनाए ।
त्रिविको पुस्तकालयदेखि चौरसम्म देखिने युवायुवतीको बाक्लो उपस्थितिले उनलाई प्रतिस्पर्धाको वास्तविकता पनि सम्झाउँछ। हजारौँ युवायुवती आ–आफ्ना सपना पूरा गर्न संघर्ष गरिरहेका छन्। कसैको लक्ष्य सरकारी जागिर छ, कसैको उच्च शिक्षा, कसैको प्रशासनिक सेवा त कसैको शिक्षक बन्ने सपना। गाउँमा शिक्षक भएर फर्किने, बालबालिकालाई पढाउने र आफूले भोगेको शैक्षिक अभावको अनुभूतिलाई नयाँ पुस्ताले भोग्न नपरोस् भन्ने चाहना उनको संघर्षको महत्वपूर्ण आधार हो।
अब सफल हुने आत्मविश्वास
लगातारको असफलताले धेरैलाई लक्ष्य परिवर्तन गर्न बाध्य बनाउँछ। तर कलबहादुर भने तीनपटकको परीक्षापछि पनि आफ्नो लक्ष्यबाट पछि हटेका छैनन्। बरु हरेक असफलताले उनलाई थप अध्ययन गर्न प्रेरित गरेको छ।दुई वर्षदेखि कीर्तिपुरको डेरामा बसेर गरेको मेहनत, बिहानै पुस्तकालय पुग्ने बानी, दिउँसो चौरमा घाम ताप्दै पाठ्यक्रम दोहो¥याउने दैनिकी र परिवारबाट टाढा बसेर गरेको संघर्षलाई उनी सफलताको आधार बनाउन चाहन्छन्।
यसपटक उनको आत्मविश्वास पहिलेभन्दा बलियो छ।“अब म यो वर्ष जसरी पनि सफल हुन्छु भन्ने आँट छ,” उनी दृढतापूर्वक भन्छन्। उनको सपना कुनै ठूलो पद वा प्रतिष्ठाको होइन। एउटा स्थायी शिक्षक बन्ने, सम्मानजनक पेसा अँगाल्ने र आफ्नो ज्ञान तथा अनुभव विद्यार्थीहरूलाई बाँड्ने हो। काठमाडौंमा बसेर शिक्षक सेवा आयोगको तयारीमा पसिना बगाईरहेका काकीलाई खर्च ब्याबस्थापन गर्न उत्तिकै संकट छ ।
कहिले भोकै कहिले आधा पेट
एकातिर आयोगको चिन्ता अर्कोतिर दैनिक खर्चको पीरलो । खल्तीमा पैसा हेरेर पेट पाल्दै पढनु परेको उनले सुनाए । कहिले भोकै सुत्छु त कहिले आधा पेट खाएर दिन कटाउछु उनको भनाई छ । भोकले मान्छे मदैन चरो लडेर मदैन भन्दै उनले चित्त बुझाउने गरेका छन । मेरो श्रीमतिको गाउ“का सानो जागिर भएको हुदा अलि सहज छ उनले भने नत्र यसरी पढन सक्ने थिइन् ।
पालिका बाटै उपेक्षित युवा
स्थायी रोजगारीको सपना बोकेर शहर पसेका युवायुवतीहरुलाई आफनै पालिका बाट उपेक्षित भएको महसुस गरि रहेका छन् । बार्षिक सरसद ४५ करोड भन्दा बढी बजेट बिनियोजन हुने सोरु पालिकामा घुडा टेकेर पसिना चुहार आयोग पढने युवायुवतीहरुलाई एक रुपैया“ छैन । पालिकास्तरमै बेरोजगारी युवायुवतीहरुलाई आयोगको कक्षा संचालन गर्नु पर्ने अबस्थामा पढन शहरमा गएका कार्की जस्ता युवायुवतीहरु प्रोत्साहन स्वरुप बजेट छुटयाउन पालिकाले ध्यान दिएको छैन । कनिका छरेजस्तै गरि बर्षेनी खर्चिने बजेट आफनै क्षेत्रको जनशक्ति उत्पादन गर्न युवायुवतीको निम्ति किन पालिकाले बजेट नछुटयाएको होला । बेरोजागारी बनेर भौतारिरहेका यिनी युवाहरु अब आयोग लडेर जागिर सुनिश्चित गर्छु भन्ने यस्ता कर्मठ युवाहरुलाई पालिकाले पनि प्राथमिकता दिनु पर्ने हो ।
कुन वडा बाट कति जना युवायुवतीहरु आयोगको अध्ययन गर्दै छन भनेर डाटा एकिन गरि उनीहरुलाई प्रोत्साहन स्वरुप पालिकाले बजेटको ब्याबस्था गरेको भए आयोग पढने युवाहरुको मनोबल बढने थियो । आफु उपेक्षित भएकै महसुसले गर्दा पछिल्लो पटक युवाहरु राजनीतिक प्रति बितृष्णा पैदा भएको छ ।
अन्तमा………….
मुगुको कच्चेगाउँबाट काठमाडौंसम्म आइपुगेका यिनी कलबहादुरको संर्घषण यात्रा अझै जारी छ। त्रिविको चौरमा घाम ताप्दै किताबका पाना पल्टाइरहँदा उनका अगाडि एउटा मात्रै लक्ष्य छ– शिक्षक सेवा आयोगमा सफलता । हामी पनि कामना गरौ । शिक्षक सेवा आयोगको तयारीमै ज्यान सुकाईरहेका युवा कलबहादुरको सपना साकार होस ् । राजबहादुर शाहीको बिशेष रिर्पोट