काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना सन्देश प्रदान गर्नु भएको छ ।
यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले भाइटीकाको सांस्कृतिक, धार्मिक तथा पारिवारिक महत्वलाई स्मरण गराउनु भएको छ ।प्रधानमन्त्री शाहले पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुग्नुभएको र यमुनाले विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुभएको छ।
बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका तथा पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिनुभएको धार्मिक विश्वास रहेको उहाँको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
यसै धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार आज दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने परम्परा रहेको छ।दाजुभाइलाई दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन छ। त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने परम्परा रहि आएको छ ।