काठमाडौं —नेपालीहरूको महान् पर्व भाईटिका केवल शहरमा मात्र नभई दुर्गम गाउँबस्ती सम्म खुशी र उल्लासका साथ मनाइएको छ । भाईटिका र फुलमाला लगाएको तस्विरहरुले सामाजिक सञ्जाल रंगीएका छन ।
दशबर्ष अघि सम्म दुर्गम गाउँबस्ती भाइटिकाको त्यति चहलपहल थिएन तर अहिले बिकट बस्तीहरुमा भाइटिकाले खुशीयाली छाउने गरेको छ ।
केही बर्ष अघि सम्म गाउँघरमा भाईटिकाको खुशीयाली देखिदैन थियो तर अहिले शहर भन्दा गाउबस्तीमा भाईटिकाको उत्साह र उमग देखिएको मुगु रारा मुर्माका बिर्खबहादुर रोकायाको भनाई छ । यो पटक खेतीपाती अन्नबाली भित्रयाएपछि भाईटिका परेको हुदा स्थानीय खुशीसाथ मनाएको उनको भनाई छ । भाईटिकाले दाजुभाई दिदीबहिनीहरुको सम्बन्ध प्रगाढ हुने रोकायाको भनाई छ ।
दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता अभिव्यक्त गर्ने पर्व मात्र होइन, यो नेपाली समाजको सांस्कृतिक पहिचान, पारिवारिक एकता र सामाजिक सद्भावको जीवन्त प्रतीक पनि हो ।
उज्यालोको पर्व दीपावलीसँगै आउने भाइटीकाले सहरदेखि गाउँबस्तीसम्म हरेक नेपालीको घरआँगनमा खुसी, उमङ्ग र आत्मीयताको रङ भर्ने गरेको छ।पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको शुभसाइत अनुसार भाइटिका पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै सप्तरंगी टीका र मखमली तथा सयपत्री फूलका माला लगाइदिने चलन छ ।
यो परम्परा नेपालको भौगोलिक सीमाभित्र मात्र सीमित छैन। विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई समेत भाइटीकाले एउटै सांस्कृतिक र भावनात्मक सूत्रमा बाँध्ने गरेको छ।ठूला शहर आधुनिक बस्तीहरूदेखि दूरदराजका गाउँघर, पहाडी बस्ती र तराईका फाँटहरूसम्म भाइटीकाको उल्लास उत्तिकै उत्साहका साथ भाइटिका मनाइएको छ ।
घरका आँगन, कौसी र बगैँचामा फुलेका सयपत्री तथा मखमली फूलको सुगन्धले वातावरणलाई पर्वमय बनाउने गरेको छ । रोजगारी, अध्ययन र विभिन्न बाध्यताका कारण टाढिएका दाजुभाई तथा दिदीबहिनीहरू खुशी साटासाट गरि भाइटिका मनाएका छन ।
भाइटीकामा लगाइने सात रङको टीका केवल सौन्दर्य र शृङ्गारको माध्यम होइन। रातो, पहेँलो, नीलो, हरियो, सेतो, बैजनी र सुन्तला रङले जीवनका विविध आयाम, आशा, ऊर्जा, प्रकृति र समृद्धिको भाव बोकेको सांस्कृतिक प्रतीकका रूपमा स्थान पाएका छन्।मखमली फूलको माला भाइटीकाको अर्को विशेष आकर्षण हो। लामो समयसम्म नओइलाउने मखमली फूललाई दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धको दीर्घायु, अटुट प्रेम र आत्मीयताको प्रतीकका रूपमा लिने गरिन्छ। फूलमाला, सप्तरंगी टीका, ओखर, मिठाई र परम्परागत विधिसँगै मनाइने भाइटीकाले नेपाली संस्कृतिको मौलिकता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परालाई जीवन्त राखेको छ।दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई सम्मान गर्दै आपसी सद्भाव र सहयोगको भावना विस्तार गर्नु नै यस पर्वको सुन्दर पक्ष हो। फोटो बासु रावल मुगु