काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाडौ–सुदूरपश्चिम र चितवन–जनकपुरबीच प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको काठमाडौं पाँच खेलबाट चार जित निकाल्दै बलियो अवस्थामा छ ।
तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले पनि समान चार खेल जितेको छ । यद्यपि, टोलीले काठमाडौंभन्दा एक खेल बढी खेलेको छ । ६ खेल खेलेको सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको छ । दुवै टोली आजको खेल जितेर अंक तालिकामा आफ्नो पकड बलियो बनाउने योजनामा हुनेछन् । यस्तै, दिनको दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो साढे ४ बजे सुरु हुने खेलमा दुवै टोलीबीच प्रतिस्पर्धा हुनेछ ।