बिहानको घाम
अझै पहाडको काखबाट
पूरै निस्किसकेको थिएन,
तर
कलिला पाइलाहरू
स्कुलतिर दौडिरहेका थिए—
कसैको काँधमा झोला,
कसैको हातमा किताब,
आँखाभरि सपना,
ओठभरि मुस्कान।
कसैले बोकेको थियो—
डाक्टर बन्ने सपना,
कसैले शिक्षक,
कसैले इन्जिनियर,
कसैले पाइलट बन्ने
आकाशजत्रो रहर।
तर
अचानक
भोटेकोशीको छाती गर्जियो—
पहाड रोयो,
आकाश काँप्यो,
धरती हल्लियो।
बाढी आएन मात्र—
एउटा बाल्यकालमाथि
कालो बादल बनेर आयो।
प्रार्थनाको घण्टी बज्दै थियो,
कलिला हातहरू
सतर्क भई उभिएर
ठूलो स्वरमा देशको राष्ट्रिय गान
गाउँन नपाउँदै,
भोटेकोशीले
विद्यालयको आँगनमा
आफ्नै उग्र हस्ताक्षर ग¥यो।
जहाँ हिजो
“गुड मर्निङ सर!”
गुञ्जिन्थ्यो,
आज
त्यहाँ
हावाले सुस्केरा हाल्छ।
जहाँ
कापीका पानामा
भविष्य लेखिन्थ्यो,
आज
त्यहीँ
बगरले
विनाशको कथा लेखेको छ।
किताब बगे—
तर अक्षरहरू कहाँ बगे होलान्?
कापी बगे—
तर ती सपनाहरू कहाँ बगे होलान्?
सानो झोलाभित्र
ठूला–ठूला सपना थिए,
भोटेकोशीले
झोला मात्र बगाएन—
एउटा पुस्ताको
भोलि बगायो।
आमाले बिहान
मायाले कपाल कोरिदिएर
पठाएको छोरा,
बाबाले
“छिट्टै फर्क है बाबु!”
भनेर बिदा गरेको छोरी—
कसैको बाटो हेर्दै
आज पनि
ढोकामा आँखा टाँसिएको छ।
विद्यालयका
भत्किएका भित्ताहरू
आज
ईँटा–ढुङ्गा मात्र होइनन्,
ती त
आमाका आँसु हुन्,
बाबाका मौन चिच्याहट हुन्,
बालबालिकाका
अधुरा सपनाका समाधि हुन्।
हे भोटेकोशी!
तिमी त
हिमालको काखबाट
गीत बोकेर आउनुपर्ने नदी,
किन आज
आमाको काख रित्त्याउने
कालो आँधी भयौ?
तिमीले
कसैको झोला बगायौ,
कसैको घर बगायौ,
कसैको विद्यालय बगायौ—
तर
सबैभन्दा पीडादायी कुरा,
तिमीले
कलिला आँखामा उम्रिएको
भोलिको उज्यालो
बगाएर लग्यौ।
आज
स्कुलको घण्टी मौन छ,
ब्ल्याकबोर्ड चुप छ,
डेस्क–बेन्च अनाथ छन्,
र
कक्षाकोठाको कुनामा
हावाले पल्टाइरहेको छ—
एउटा च्यातिएको किताब।
त्यसको एउटा पानामा
अझै लेखिएको छ—
“ःथ ँगतगचभ…”
त्यो वाक्य देखेर
ढुङ्गाको मुटु पनि
सायद पग्लिएला,
पहाडका आँखाबाट पनि
आँसु झर्ला।
किनकि
त्यो किताबको
च्यातिएको पाना
किताबको पाना मात्र होइन—
एउटा बालकको
अधुरो भविष्य हो।
तर
भोटेकोशी!
याद राख—
बाढीले विद्यालय बगाउन सक्छ,
किताब बगाउन सक्छ,
झोला बगाउन सक्छ,
भित्ताहरू भत्काउन सक्छ—
तर सपना बगाउन सक्दैन।
हामी
ती कलिला मुनाहरूलाई
फेरि उठाउनेछौँ,
फेरि किताब दिनेछौँ,
फेरि झोला भिराउनेछौँ,
फेरि विद्यालय बनाउनेछौँ।
र एकदिन
त्यहीँ बगरमाथि
फेरि घण्टी बज्नेछ—
“टिङ… टिङ… टिङ…”
त्यो दिन
भोटेकोशीको गर्जनभन्दा
ठूलो हुनेछ
बालबालिकाको हाँसो।
त्यो दिन
बाढीले बगाएको
विद्यालय मात्र फर्किने छैन—
फर्किनेछ
एक पुस्ताको सपना,
एक आमाको मुस्कान,
एक बाबाको भरोसा,
र
नेपालको उज्यालो भविष्य।
लेखक बेगम थापा निश्चल