मुगु—कर्णाली प्रदेशमा बढ्दो भ्रष्टाचार, अनियमितता, नीतिगत विकृति तथा विकास निर्माणमा देखिएको लापरबाही विरुद्धमा मुगुका युवाहरूले जरा अभियान सुरु गरेका छन उक्त अभियानको घोषणा कर्णाली प्रदेश राजधानी सुर्खेतमा गरेका हुन ।
युवा अभियन्ता तथा कृषि शास्त्री आशिष देवकोटाको नेतृत्वमा बसेको भेलाले मुगु जिल्लामा भ्रष्टाचार, अनियमितता, विकास निर्माणमा हुने ढिलासुस्ती, सार्वजनिक स्रोत साधनको दुरुपयोग तथा जनताका आधारभूत अधिकारमाथि भइरहेको उपेक्षा विरुद्ध भ्रष्टाचारविरुद्ध जरा अभियान सुरु गरेका छन ।
भेलामा राष्ट्रिय तथ्यांक कार्यालयको ‘गरिबीको लघुक्षेत्र अनुमान २०८२’ अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका (७७.८९%) पछि नेपालकै सबैभन्दा गरिब स्थानीय तह मुगुको सोरु गाउँपालिका (७२.३६%) रहेको छन्। कुल १४ हजार २७७ जनसंख्या रहेको सोरुमा १० हजार ३३० जना गरिबीको रेखामुनि रहेका छन ।
जुन १०० मा ७२ जना गरीब रहेका छन्।यता महालेखा परीक्षकको प्रतिवेदनअनुसार मुगुका चार स्थानीय तहमा कुल १ अर्ब ३० करोड १५ लाख २० हजार रुपैयाँ बेरुजु रहेको छ। जसमध्ये सोरु गाउँपालिकामा सबैभन्दा बढी ६१ करोड २२ लाख ९३ हजार रुपैयाँ बेरुजु फेला परेको छ। त्यसपछि खत्याड गाउँपालिकामा ४२ करोड ९० लाख ६६ हजार, छायाँनाथ रारा नगरपालिकामा १९ करोड ३५ लाख २३ हजार र मुगुम कार्मारोङ गाउँपालिकामा ६ करोड ६६ लाख ३८ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ। यस्तो अवस्था हुँदा पनि जनजीवनमा अपेक्षित सुधार आउन नसकेको भन्दै मुगुका युवाहरूले चिन्ता जाहेर गरेका छन ।
युवाहरूले मुगु जिल्लाको भ्रष्टाचार तथा अनियमितताका बिषयमा छलफल गरेका छन ।
विशेषगरी २०७८ सालमा १५ करोड ९३ लाख रुपैयाँ लागतमा सम्झौता भई २०८२ सालभित्र सम्पन्न हुनुपर्ने हुम्ला कर्णाली र मुगु कर्णाली नदीको संगमस्थल स्थित बहुप्रतीक्षित दोमुख पक्की पुल वर्षौँदेखि अलपत्र अवस्थामा रहेको विषयलाई गम्भीर रूपमा उठाएको युवा अभियान्ता आषिश देवकोटाले बताए । उक्त पुल निर्माणमा भएको ढिलासुस्तीले स्थानीय बासिन्दा तथा यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको उनको भनाई छ ।
त्यसैगरी मुगुको चारवटै स्थानीय निकाय तथा मुगुको सोरु गाउँपालिकामा वटै वडामा आजको समयमा पनि खानेपानीको हाहाकार, स्वास्थ्य संस्थाहरूमा उपकरण, विकास निर्माणमा ठेकेदारको ढिलासुस्ती समाजिक सुरक्षा भत्तामा बितरणमा ढिलाई वडास्तरमा सचिव अभाव, शिक्षा, स्वास्थ्य, विद्युत्, यातायात तथा सञ्चारजस्ता आधारभूत सेवासमेत न्यूनतम मापदण्ड अनुसार उपलब्ध हुन नसकेको अवस्थाप्रति युवाहरूले गम्भीर चासो ब्यक्त गरेका छन । युवाहरूका अनुसार रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा उज्ज्वल भविष्यको खोजीमा मुगुका गाउँहरुबाट सहरतर्फ बसाइँसराइ तीव्र बन्दै गएको छ। जसका कारण गाउँहरूमा वृद्धवृद्धा, अत्यन्त गरिब नागरिक तथा सीमित अवसर प्राप्त व्यक्तिहरू मात्र बस्न बाध्य भएका छन्। यसले ग्रामीण क्षेत्रको सामाजिक तथा आर्थिक संरचनामै गम्भीर असर पारेको उनीहरूको निष्कर्ष छ।
भेलाले मुगुका सबै स्थानीय तहमा युवा प्रतिनिधि चयन गरी भ्रष्टाचार, अनियमितता, विकास निर्माणमा हुने ढिलासुस्ती, कर्मचारी तथा राजनीतिक नेतृत्वको गैर जवाफदेहिता, जनगुनासो तथा आपत्कालीन समस्याहरूको तथ्यगत अभिलेखीकरण गर्ने निर्णय गरेको छ। भेलामा सहभागी युवाहरूले कर्णाली प्रदेशका अन्य जिल्लाका युवासँग समेत सहकार्य र समन्वय गर्दै अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको अभियान्ता देवकोटाले जानकारी गराए ।