बिहान
घामले अझै आँखा मिच्दै गर्दा,
सहरका सडकहरूमा
पसिनाको फूल फुलिसकेको हुन्छ।
कसैको डोकोभरि
ओसले भिजेका सागहरू छन्,
कसैको हातमा
आगोसँग मित्रता गाँसेको मकै छ,
कसैको काँधमा
ऋतुका रङ बोकेका फलहरू,
कसैको झोलाभित्र
सुई र धागोले टाल्न खोजेको
जीवनको च्यातिएको जुत्ता।
उनीहरू व्यापार गर्दैनन्,
उनीहरू त
भोकसँग सम्झौता बेचिरहेका हुन्छन्।
सडक—
उनीहरूको ठेगाना होइन,
तर नियतिले लेखिदिएको
अस्थायी भाग्यको पाना हो।
नगर प्रहरीको सिठी
उनीहरूका लागि
सिर्फ एउटा आवाज होइन,
अकालको कालो बादल हो,
जसले
पसिनाले उम्राएको सानो बाली
एकै झोक्कामा उडाइदिन्छ।
उनीहरू भाग्छन्न्
अपराधीझैँ होइन,
गुँड जोगाउन आतुर
चराझैँ।
कतै
तरकारीका हरिया पातहरू
आँसु बनेर सडकमा छरिन्छन्,
कतै
मकैको धुवाँसँगै
एउटी आमाको आशा उड्छ,
कतै
फलका टोकरीसँगै
एउटा बालकको विद्यालय
ओरालो लाग्छ।
साँझ पर्दा
सूर्य मात्र अस्ताउँदैन,
उनीहरूको अनुहारमा
अधुरो मुस्कान पनि अस्ताउँछ।
तर,
भोलि फेरि
उही बिहान आउँछ,
उही डोको,
उही भारी,
उही सपना,
र उही डर लिएर।
हे सहर!
कहिल्यै समय मिले
ती हातहरू छामेर हेर,
त्यहाँ रेखा होइन,
देशको भविष्य कोरिएको छ।
किनकि
देशका अग्ला भवनहरू
सिमेन्टले मात्र उभिएका छैनन्,
यिनै श्रमका थोपाहरूले
आफ्नो रगत मिसाएर
आकाश अड्याइरहेका छन्।
र म…
हरेक बिहान
उनीहरूलाई देख्दा
लाग्छ—
सडकमा तरकारी होइन,
मान्छेका सपनाहरू बेचिँदै छन्।
मकै पोलिएको गन्धमा
भोकको इतिहास सल्किरहेको छ,
जुत्ताको टालोभित्र
च्यातिएको भाग्य सिउँदैछ,
र एउटा फलफूलको टोकरीभित्र
कुनै बालकको भविष्य
मूल्य खोज्दै बसिरहेको छ।
त्यसैले
यदि कहिल्यै
तिम्रो आँखाबाट एउटा आँसु झर्छ भने,
त्यो आँसु
यिनै श्रमजीवीका पसिनासँग मिसिन देऊ।
सायद,
त्यही दिन
यो सहर
साँचो अर्थमा
मानिस बन्न सिक्नेछ ।।
लेखक ,बेगम थापा “निश्चल“