मुगु —कर्णालीमा साउने संक्रान्ति पर्वको आफनै बिशेषता छ । कर्णालीमा साउन १ गतेलाई ‘साउने संक्रान्ति राँको बाल्ने र लुतो फाल्ने पर्व तथा देउडा पर्वको रूपमा रमझम भव्य रूपमा मनाइने गरिन्छ ।
असार महिनाको हिलोमैलो, खेतीपातीको थकान र व्यस्तता बाट मुक्ति पाएको खुशीयालीमा यो पर्व मनाइने हुनाले कर्णाली सरकारले यस दिन प्रदेशभर सार्वजनिक बिदा समेत दिने गर्दछ।
यो पर्व केवल ऋतु परिवर्तनको उत्सव मात्र नभई सामाजिक एकता, प्राचीन स्वास्थ्य चेतना र लोकसंस्कृतिको रुपमा परिचित छन । कर्णालीमा साउने संक्रान्तिको मुख्य आकर्षण साँझपख गरिने ‘लुतो फाल्ने’ र ‘राँको बाल्ने’ मौखिक बिधि हो ।
असारे हिलोका कारण आउन सक्ने छालाजन्य रोगहरू (दाद, खटिरा, लुतो) बाट मुक्ति पाउन यो धार्मिक तथा सांस्कृतिक विधि अपनाइन्छ । बन जङ्गलबाट सल्लोको दियालो झरो ल्याउने र साँझपख स्थानीयले आफनो घर क्षत आगनमा अगेनो सल्काएर राँको बाल्ने गरिन्छ । मुगु, जुम्ला, कालिकोट, डोल्पा, हुम्ला लगायत जिल्लामा साउने सक्राति पर्वले रौनक छाउने गरेको छ ।
उपियाँ जा, रुपियाँ आइजा ! अनिकाल जा, सकाल आइज !“ अर्थात्, दुःख र रोगव्याधि हटून र सुख, शान्ति तथा समृद्धिको आगमन होस् । राँको बाल्दा सिंगो गाउँ नै झलमल उज्यालो देखिन्छ, जुन दृश्य निकै रमाइलो हुन्छ ।
असारको हिलोले खाएका हातखुट्टालाई औषधीय उपचार गर्न र सुन्दरता भर्न यस दिन हातखुट्टामा तिउरी (मेहेन्दी जस्तै स्थानीय वनस्पति) लगाउने चलन छ। तिउरीको रसले छालाका रोग निको पार्ने र यसको बास्नाले सर्प तथा कीराहरू नजिक नआउने विश्वास गरिन्छ ।
खानपानका हिसाबले पनि यो दिन विशेष हुन्छ। यस पर्वमा घरघरमा खिर, सेलरोटी, पनिर, तरकारी र स्थानीय परिकार ‘तात्या’ (घ्यूमा तारिएको विशेष रोटी) बनाएर आफन्त तथा दिदीबहिनीहरूलाई निम्तो गरी सामूहिक रूपमा खाने गरिन्छ ।
असारे हिलोबाट जोगिन अपनाइने स्वास्थ्य सचेतना, देउडा गीतका माध्यमबाट व्यक्त हुने भावना र राँकोको उज्यालोले कर्णालीको समृद्ध लोक सभ्यतालाई झल्काउँछ । साउने सक्रातिका दिनमा महिला पुरुष युवायुवतीले देउडा खेलेर रमाउने गरेका छन ।
नेपाली संस्कृतिमा साउने सङ्क्रान्तिलाई वर्षायामको हिलोमैलो सकिएर सफासुग्घर हुने र खेतीपातीको कामबाट थोरै फुर्सद पाउने समयका रूपमा लिइन्छ । कर्णालीमा भने यस पर्वको सामाजिक, साँस्कृतिक र स्वास्थ्यसम्बन्धी बेग्लै महत्व छ ।
तस्विर राजबहादुर बुढा ।