शनिबार, साउन २३, २०८३
शनिबार, साउन २३, २०८३
  • होमपेज
  • समाज
  • शनिवारिय कविता, कापीबिनाको अक्षर

शनिवारिय कविता, कापीबिनाको अक्षर

  • शनिबार, साउन २३, २०८३
शनिवारिय कविता, कापीबिनाको अक्षर

उसको बालापन
होटलको धुवाँमा पोलिएको रोटी हो,
जहाँ सपनाहरू
भाँडा माझ्ने पानीसँगै बगिरहन्छन्।
ऊ बिहान
सूर्य होइन, मालिकको हप्की सुनेर उठ्छ,
र रात
ताराहरू होइन, थाकेका परेलीहरू गनेर सुत्छ।
उसका साना हातहरूमा
कलम फुल्नुपर्ने थियो,
तर त्यहाँ त
चर्किएका घाउहरू उम्रिएका छन्।
विद्यालयले सोध्छ—
“गृहकार्य कहाँ छ?“
उसले चुपचाप
आफ्ना खाली हात देखाउँछ,
किनकि उसका उत्तरहरू
कापीका पानामा होइन,
होटलका कालो भाँडामा लेखिएका छन्।
आमा नभएकी जून,
बुवा नभएको आकाश—
उसको टाउकोमाथि
दुवै हराइसकेका छन्।
भोक
उसको सबैभन्दा ठूलो शिक्षक बनेको छ,
जसले हरेक दिन सिकाउँछ—
पहिले पेट भर,
त्यसपछि मात्र अक्षर खोज।
कापी किन्न सक्ने पैसै छैन,
कलम किन्ने सपना नै ऋणमा छ।
त्यसैले ऊ
अक्षरभन्दा पहिले
अरूको पसिना बोक्न सिकिरहेको छ।
कहिलेकाहीँ लाग्छ—
उसको जीवन
पुस्तकको बीचमा च्यापिएको
सुकेको फूल होइन,
पढिनै नपाएको
एउटा अधुरो पाना हो।
हे समाज!
यदि तिमीले
उसको हातमा
एउटा कलम राख्न सकेनौ भने,
भोलि इतिहासले लेख्नेछ—
हामीले एउटा बालकलाई होइन,
एउटा उज्यालोलाई
होटलको धुवाँमा हराउन दियौँ।
  लेखक  बेगम थापा“ निश्चल “

चर्चामा

सम्बन्धित समाचार