कर्णाली प्रदेशको हिमाली मुगु जिला भन्नेबित्तिकै धेरैको मानसपटलमा नीलो कञ्चन रारा ताल, अग्ला हिमशृङ्खला र प्राकृतिक सुन्दरताको दृश्य तैरिन थाल्छ। तर, यसै रमणीय भूगोलभित्र लुकेको छ ।
अभाव, विकटता र उपेक्षाको अर्को यथार्थ। सिंहदरबारको नजर धेरै ढिलो पुग्ने मुगुका अप्ठ्यारा भीरपहरा, दुर्गम बस्ती र नागरिकका पिरमार्कलाई राज्यको मूलधारसम्म पु¥याउने एक सशक्त माध्यम हुन—वरिष्ठ पत्रकार राजबहादुर शाही ।
करिव दुई दशक भन्दा बढी समयदेखि मुगुको माटोमा उभिएर खोजमूलक पत्रकारिता गर्दै आएका शाही कर्णालीको ग्रामीण पत्रकारिताका एक पर्याय रुपमा मानिन्छन्।
मुगु सोरु गाउपालिका—५ फोतु दुर्गम गाउँमा हुर्किएका राजबहादुर शाहीको बाल्यकाल र प्रारम्भिक शिक्षा त्यति सहज रहेन । तत्कालीन समयमा मुगुमा न त सञ्चारका आधुनिक साधन थिए, न त सहज यातायातको सुविधा नै। पत्रिका पढ्न दिनौँ पर्खिनुपर्ने र रेडियोको सिग्नल पाउन पनि डाँडाकाँडा धाउनुपर्ने परिस्थितिमा हुर्किएका शाही कलिलो उमेर देखि समाजका घटनालाई उजागर गर्ने उत्सुकता थियो ।
विषम परिस्थिति र पारिवारिक चुनौतीका बाबजुद उनले उच्च शिक्षा हासिल गरे र समाज परिवर्तनको औजारका रूपमा पत्रकारितालाई रोजे। २०५८ को दशकको उत्तरार्धबाट खोजमूलक समाचारमार्फत सञ्चार क्षेत्रमा प्रवेश गरेका उनले राष्ट्रिय सञ्चारमाध्यम विशेष गरी कान्तिपुर दैनिकका लागि मुगुबाट लामो समय आवासीय संवाददाताका रूपमा काम गरे। शाहीको पत्रकारिता मुख्य सारथी स्वर्गीय सुमन मल्ल, बिनोद कुमर मल्ल, नृपेन्द्रबहादुर मल्ल र जीवन सेजुवाल रहेका थिए । उनीहरु जिल्ला सदरमुकाम निवासी हुन शाही बिकट दुर्गम गाउबाट पत्रकारिताको निम्ति जिल्ला सदरमुकाम गमगढी छिरेका थिए । पछि कविराज कार्की र अच्यूतराज भण्डारीको पनि साथ सहयोग रहयो । ल
शाहीलाई पत्रकारिता क्षेत्रमा साथ सहयोग र हिक्मत प्रदान गर्ने मुगु गमगढी निवासी समाजसेवी राजनीतिज्ञ पदमबहादुर रावल पनि हुन । रावलले शाहीलाई जीवनमा ठूलो सहयोग पुरयाएका छन ।
काठमाडौँका सुविधायुक्त न्युजरुममा बसेर समाचार लेख्नु र मुगुका विकट गाउँहरूमा पुगेर तथ्य सङ्कलन गर्नुबीच आकाश–पातालको फरक छ। शाहीको पत्रकारिता यात्रा संघर्ष, जोखिम र साहसले भरिएको छ । आफुले पठाएका समाचार छापिए वा नछापिएको कुनै जानकारी समेत पाउन मुश्किल अबस्थामा पनि शाहीले पत्रकारिता पेसा त्याग्न सकेनन ।
मुगुको माथिल्लो क्षेत्र मुगुम कार्मारोङ, वा खत्याडका दुर्गम बस्तीहरूमा पुग्न धेरै दिन पैदल हिँड्नुपर्ने बाध्यता उनको दिनचर्या नै बन्यो । उति बेला इन्टरनेट नभएको परिस्थितिमा शाहीले हुलाक बाट पनि कान्तिपुर दैनिकमा समाचार पठाएको रेर्कड छ ।
फोन फयाक्स इन्टरनेट नहुदा हुलाक बाट समाचार पठाउदा कान्तिपुर न्यूज डेक्सका पत्रकारहरु साथीहरु अचम्मित भएको शाहीको भनाई छ । हुलाक बाट समाचार पठाउन न्यूज डेक्स बाट शाहीले गाली समेत खानु परेको थियो ।
खाद्यान्न संकट र अनिकालः मुगुमा प्रायः भइरहने खाद्यान्न अभाव र चामलको डिपो अगाडि लाग्ने सर्वसाधारणको लामो लाइनलाई उनले राष्ट्रिय सञ्चारमाध्यमको मुख्य शीर्षक बनाए । पछि बिस्तार फोन फयाक्स र इन्टरनेट सुबिधा हुदै गएपछि शाहीको पत्रकारिता क्षेत्रमा सहज हुदै गयो ।
स्वास्थ्य र शिक्षाको दूरवस्थाः दरबन्दी अनुसारका डाक्टर नहुँदा अकालमा ज्यान गुमाउनुपरेका गर्भवती आमा आमाहरू र भौतिक पूर्वाधार बिनाका विद्यालयमा पढ्न बाध्य बालबालिकाका कथालाई उनले निरन्तर कमल चलादै राज्यको बहसमा ल्याउन सफल भए ।
विकासका ढिलासुस्ती कर्णाली राजमार्ग र ग्रामीण सडक निर्माणमा हुने भ्रष्टाचार, ढिलासुस्ती तथा अनियमितता माथि उनले निर्भीक भएर कलम चलाए । उनी माथि जिल्लाबासीको पनि उत्तिकै साथ सहयोग रह्यो ।
द्वन्द्वकालको कठिन समयमा पनि उनले निष्पक्ष पत्रकारिताको धर्म छाडेनन्। एकातिर राज्यपक्षको सशंकित नजर र अर्कोतिर विद्रोहीको त्रासका बीच सन्तुलन मिलाएर नागरिकका पीडा लेख्नु उनको जीवनको सबैभन्दा चुनौतीपूर्ण मोड थियो । दुबैतिरको बीच धारमा रहेर उनले समाचार लेख्न हिक्मत कहिल्यै हारेनन ।
राजबहादुर शाही केवल समस्या मात्र लेख्दैनन्, मुगुको अथाह सम्भावनालाई पनि विश्वसामु पस्कन्छन्। नेपालको पर्यटकीय गन्तव्य रारा ताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न उनको महत्वपूर्ण योगदान रहेको छ । रारालाई जलवायुले पारेको प्रभावको बिषयमा उनको मुख्य रिर्पोटिङ रहयो ।
राराको सौन्दर्यलाई समेटेर लेखिएका उनका फिचर स्टोरी र खिचेका तस्बिरहरूले हजारौँ आन्तरिक तथा बाह्य पर्यटकलाई मुगुतर्फ आकर्षित गरेको छ । यद्यपि, रारा वरपर भइरहेका वातावरणीय अतिक्रमण, प्लास्टिकजन्य प्रदूषण र अव्यवस्थित पूर्वाधार निर्माणका विषयमा पनि उनले कडा आलोचनात्मक समाचार लेख्दै आए । जलवायु परिवर्तनले हिमाली क्षेत्रको जनजीवनमा पारेको प्रभावबारे उनका खोजमूलक रिपोर्टिङहरू उत्तिकै प्रभावकारी देखिएको छ ।
नेपाल पत्रकार महासंघ मुग ुशाखा स्थापना देखि स्थानीय नेतृत्वमा रहेर काम गरेका शाहीले मुगुमा स्थानीय सञ्चारमाध्यम (रेडियो र अनलाइन) को स्थापना र विकासमा पनि अहम् भूमिका खेलेका छन्। मोफसलमा बसेर पनि व्यावसायिक पत्रकारिता गर्न सकिन्छ र राष्ट्रिय स्तरमा प्रभाव पार्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।
मुगुमा पत्रकारिता गर्न आउने नयाँ पुस्ताका लागि उनी एक अभिभावक र मार्गदर्शन मानिन्छन । समाचारको सत्यता, निष्पक्षता र सामाजिक उत्तरदायित्वमा कहिल्यै सम्झौता नगर्ने उनको कार्यशैलीले कर्णालीका नयाँ पत्रकारहरूलाई सधैँ प्रेरित गर्छ । शाहीले पत्रकारिताको नाम आफनो इज्जत कहिलै खस्कने काम गरेन ।
राजबहादुर शाहीको २५ वर्षभन्दा बढीको पत्रकारिता यात्रा केवल एक व्यक्तिको व्यावसायिक करिअर मात्र होइन; यो मुगुको विगत दुई दशकको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणको जीवन्त दस्तावेज हो। राज्यको मूलधारबाट पछाडि पारिएको कर्णालीको आवाज बनेर अझै पनि उनको कलम उत्तिकै तिखो र सक्रिय रूपमा चलिरहेको छ । शाही कान्तिपुर दैनिक बाट बाहिरिए पछि आफै क्याराभान खबर अनलाइन खोलेर खोजमुलक रिर्पोटिङ गरि रहेका छन ।
दुई दशक भन्दा बढी पत्रकारिता क्षेत्रलाई बिश्राम नगरी शाहीले अहिले आफनै अनलाइन चलाई रहेका छन । उक्त अनलाइनलाई पनि शसक्त रुपमा अघि बढाउने उनको चाहना रहेको छ ।
तत्कालिन केपी ओली सरकारको पालामा संघीय वन तथा वातावरण मन्त्री बनेका ऐनबहादुर शाही ठकुरीको करिव १४ महिना प्रेस सहयोगीको रुपमा शाहीले सिहदरबार मन्त्रालयमा काम गरेका थिए । बिकट गाउमा जन्मिएका शाहीलाई संघीय वनमन्त्रीको प्रेस सहयोग बनेर काम गर्नु ठूलो अवसर मिलेको थियो । उक्त समयले शाहीले मन्त्रीको समाचार सम्प्रेषणमा ठूलो भूमिका निभाउन सफल भए । शाहीले मन्त्रीलाई कुनै आक्षेप आउने खालका क्रियाकलाप गरेनन ।
कर्णाली क्षेत्रमा लामो पत्रकारिता गरेका शाहीलाई गत भदौ ६ गते झापा स्थित साहित्य पत्रकारिता साधना सम्मेलन २०८३ मा सम्मान गरिएको छ । यो सम्मान मुल्याकनको आधारमा सम्मान गरिएको थियो । शाहीले सिमित झापा बाट मात्र नभएर बिभिन्न निकाय बाट सम्मान प्राप्त गरि सकेका छन ।