काठमाडौ — नेपाली काँग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज (बिहीबार) हुँदैछ। केन्द्रीय निर्वाचन समितिको आयोजनामा सभापतिबाहेकका अन्य निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह राखिएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
पार्टीका नवनिर्वाचित सभापति गगनकुमार थापाले भने यस अघि असोज ३१ गते नै शपथ ग्रहण तथा पदबहाली गरिसक्नुभएको छ। आजको समारोहमा सभापतिबाहेकका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिनेछन्।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न काँग्रेसको १५औं महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो। पार्टी विधानमा कुल २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था रहे पनि बाँकी ६६ जना भने सभापतिद्वारा मनोनीत गरिने प्रावधान रहेको छ।