काठमाडौ —नेकपा (एमाले) का अध्यक्ष एवम पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र एकता कायम गर्दै आगामी निर्वाचनमा सशक्त संगठनका साथ जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन ।
बुधबार काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा आयोजित एमालेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी स्थानीय तह, प्रदेश तथा राष्ट्रिय सभाका निर्वाचनमा पार्टीलाई भव्य सफलतामा पु¥याउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।
बिरुवामा जल सिञ्चन गरी भेलाको उद्घाटन गरेका अध्यक्ष ओलीले राष्ट्रिय भेलाको मुख्य सन्देश पार्टी एकता भएको उल्लेख गर्दै एमाले विजयको आत्मविश्वासका साथ निर्वाचनमा होमिन तयार रहेको बताए।
‘यो भेलाको मूल सन्देश एकताको हो। हामी विजयको आत्मविश्वास लिएर जाँदै छौँ। अब स्थानीय, प्रदेश, राष्ट्रिय सभाको चुनाव आउँदै छ। यी निर्वाचनहरूमा हामी सशक्त संगठन लिएर जाँदै छौँ,’ ओलीले भने।
अध्यक्ष ओलीले निर्वाचनको तयारीमा सक्रियतापूर्वक लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै अब आराम गर्ने समय नरहेको स्पष्ट पारे। पार्टीको संगठनलाई थप मजबुत बनाउँदै एकताबद्ध भएर चुनावी अभियानमा जुट्नुपर्ने उनको भनाइ थियो।