काठमाडौ- तराई-मधेसको महान लोकआस्था तथा धार्मिक पर्व छठ, उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै आज सोमबार बिहान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
झिसमिसेमै स्थानीय जलाशय, पोखरी तथा नदी किनारका छठघाटहरूमा पुगेका व्रतालुहरू उदाउँदो सूर्यको प्रतीक्षामा पानीमा उभिएका थिए। सूर्यको पहिलो किरण देखा पर्नेबित्तिकै उनीहरूले विधिपूर्वक अर्घ्य दिएर यस वर्षको कात्तिक शुक्ल पक्षको छठ पर्व विधिवत रूपमा सम्पन्न गरेका हुन्।
चार दिनसम्म विभिन्न विधि र कठोर नियमानुसार मनाइने यस पर्वको पहिलो दिन शुक्रबार ‘नहाय-खाय’, दोस्रो दिन शनिबार ‘खरना’ (दूध र गुड मिसाएर पकाइएको खीर तथा रोटी ग्रहण गर्ने विधि) सम्पन्न भएको थियो। त्यस्तै, आइतबार दिनभर निर्जल र निराहार कठोर व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए भने आज सोमबार बिहान उदाउँदो सूर्यको उपासना गर्दै आफ्नो कठिन व्रत समापन गरेका छन्।