मङ्लबार, मंसिर २, २०८३
मङ्लबार, मंसिर २, २०८३
  • होमपेज
  • News
  • अस्पताल बनेपछि मुगुम कार्मारोङवासीमा खुसी, अब गाउँमै उपचार पाउने आशा

अस्पताल बनेपछि मुगुम कार्मारोङवासीमा खुसी, अब गाउँमै उपचार पाउने आशा

  • मङ्लबार, मंसिर २, २०८३
अस्पताल बनेपछि मुगुम कार्मारोङवासीमा खुसी, अब गाउँमै उपचार पाउने आशा

मुगु- मुगु जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिका–३ का ४० वर्षीय उर्गिन लामाङलाई सामान्य स्वास्थ्य समस्या हुँद गाउँकै स्वास्थ्यचौकी पुग्न खासै कठिनाइ हुँदैन। तर रोग जटिल भयो भने उनको विकल्प सीमित छ। चार घण्टा पैदल हिँडेर जिल्ला अस्पताल गमगढी पुग्नुपर्छ। त्यहाँबाट पनि उपचार सम्भव नभए जुम्ला, सुर्खेत, नेपालगन्ज वा काठमाडौं पुग्नुपर्ने बाध्यता छ।

उर्गिनको मात्र होइन, मुगुम कार्मारोङका टसी तामाङ देखि विकट बस्तीमा बसोबास गर्ने अधिकांश नागरिकको स्वास्थ्य उपचारसँग जोडिएको साझा पीडा हो यो।
बिरामी पर्दा समयमै अस्पताल पुग्न नसक्नु, यातायातको अभावमा बाटोमै अल्झिनु र सामान्य उपचारका लागि पनि घण्टौँ हिँड्नुपर्ने बाध्यताले यहाँका नागरिकको जीवनलाई सधैँ जोखिममा राख्दै आएको छ।

यही बाध्यताबीच मुगुम कार्मारोङ गाउँपालिका–६ रिउसमा प्राथमिक अस्पतालको नयाँ भवन निर्माण भएर सञ्चालनको बाटो खुलेको छ। गत शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले अस्पताल भवन उद्घाटन गरेपछि स्थानीयवासीमा वर्षौंदेखि देख्दै आएको स्वास्थ्य उपचारको दुःख अब कम हुने आशा पलाएको छ।

दुर्गम हिमाली बस्तीमा ठूलो र सुविधासम्पन्न अस्पताल भवन ठडिएपछि स्थानीयका अनुहारमा खुसी देखिएको छ। उनीहरूका लागि यो केवल एउटा सरकारी भवन होइन, बिरामी पर्दा आफ्नै गाउँठाउँमा उपचार पाउने सम्भावनाको नयाँ ढोका हो।

अस्पताल देख्दा खुसी
मुगुम कार्मारोङ–३ का फूर्बा तामाङलाई गाउँमै ठूलो अस्पताल बनेको देख्दा खुसी लागेको छ। सहरका निजी अस्पतालजस्तै चिटिक्क परेको भवन देख्दा अब उपचारका लागि टाढा जानुपर्ने दिन अन्त्य हुने उनको अपेक्षा छ।

‘सहरका कुनै निजी अस्पतालभन्दा ठूलो र चिटिक्क परेको भवन बनेको छ। अब यहीँबाट सबै खाले उपचार सेवा पाइने आशा गरेका छौँ,’ उनले भने, ‘तर भवनले मात्र उपचार गर्ने होइन। आवश्यक चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, औषधि र उपकरण भए मात्रै नागरिकले प्रभावकारी सेवा पाउँछन्।’

फुर्बाको भनाइले अस्पताल निर्माणसँगै स्थानीयको मनमा पलाएको खुसी र उनीहरूले भोगिरहेको यथार्थ दुवैलाई उजागर गर्छ। भवन निर्माण हुनु आफैँमा उपलब्धि भए पनि त्यसबाट नागरिकले वास्तविक लाभ पाउन अस्पताल नियमित सञ्चालन हुनुपर्छ।हाल गाउँपालिकाको बजेटबाट एक चिकित्सकसहित आठ जना अन्य स्वास्थ्यकर्मी परिचालित छन्।

अस्पताल बन्न १० करोड खर्च
संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण भएको रिउस प्राथमिक अस्पतालमा १० करोड २४ लाख ९३ हजार १ सय ६० रुपैयाँ खर्च भएको छ।

नेपाल पब्लिक कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले निर्माण गरेको भवनमा तीनवटा ब्लक, ४० वटा कोठा र १९ वटा शौचालय छन्। निर्माण कम्पनीसँग २०७८ वैशाख १७ गते सम्झौता गरी २०८० असार ३० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

तर हिमाली भूगोल, सडक सञ्जालको अभाव र निर्माण सामग्री ढुवानीको कठिनाइले निर्धारित समयमा काम सम्पन्न हुन सकेन। पाँच पटक म्याद थप गर्नुपर्दा भवन निर्माण सम्पन्न हुन करिब दुई वर्ष ढिलाइ भयो।डीपीआर निर्माणमा भएको ढिलाइ, सडक पहुँच नहुनु र निर्माण सामग्री खच्चड तथा भरियामार्फत ढुवानी गर्नुपर्ने अवस्थाले काम प्रभावित भएको गाउँपालिकाकाले जनाएको छ ।

सडक छैन, हिडेरै अस्पताल
अस्पताल बनेपछि गाउँपालिकावासीमा उपचार पाउने आशा बढेको छ। गाउँपालिकाका सबै बस्तीमा सडक पुगेको छैन । औषधि उपचारको लागि रिउस अस्पताल पुग्न हिडनु पर्ने बाध्यता छ

गमगढी–नाक्चेनाग्ला सडक खण्डको कुल ९३ किलोमिटरमध्ये हाल गमगढीदेखि १८ किलोमिटर मात्रै सडक पुगेको छ। अझै ७५ किलोमिटर सडक निर्माण गर्न बाँकी छ।गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार सडक नै कार्मारोङको विकासको प्रमुख बाधक बनेको छ। अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सडक पहुँच विस्तारसँगै आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गर्नु बताउछन ।सडक नहुँद बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्ने समस्या अझै कायम छ।

आम्ची  भरमा उपचार
स्वास्थ्य संस्था टाढा हुनु र यातायात सुविधा नहुनुले मुगुम कार्मारोङका नागरिकलाई अझै पनि परम्परागत उपचार पद्धतिमा निर्भर हुनुपर्ने अवस्था छ। गाउँमा बिरामी परेपछि कतिपयले स्थानीय आम्ची तथा वैद्यबाट उपचार गराउने गरेका छन्।

परम्परागत उपचार पद्धति यहाँको सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिएको छ। तर जटिल स्वास्थ्य समस्या देखिँदा आधुनिक स्वास्थ्य संस्थामा समयमै पुग्न नसक्नु स्थानीयका लागि गम्भीर चुनौती बनेको छ।रिउसमा अस्पताल सञ्चालनको इतिहास नयाँ भने होइन। २०७५ सालमा छाया नेपाल काठमाडौं र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र मुगु तथा मुगुम कार्मारोङ गाउँपालिकाको लागत साझेदारीमा यही स्थानमा रिउस सामुदायिक अस्पताल स्थापना गरिएको थियो। त्यतिबेला ती संस्थाले आफ्नै जनशक्ति परिचालन गरेर स्वास्थ्य तथा प्रसूति सेवा, एक्सरे र प्रयोगशाला सेवा सञ्चालन गरेका थिए। गाउँमै स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयले ठूलो राहत महसुस गरेका थिए।

प्रदेश सरकारको स्तरोन्नति गर्ने प्रतिबद्धता
अस्पताल भवन उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले दुर्गम हिमाली बस्तीमा करोडौँ रुपैयाँको स्वास्थ्य संरचना निर्माण हुनु गौरवको विषय भएको बताए।

संघीयताका कारण विकट गाउँमा समेत स्वास्थ्य र शिक्षाका ठूला पूर्वाधार निर्माण सम्भव भएको उल्लेख गर्दै उनले भवन निर्माणसँगै सेवा विस्तार र प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्ने बताए। अस्पताललाई थप स्तरोन्नति गर्न प्रदेश सरकारले पहल गर्ने उनको प्रतिबद्धता थियो।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य खड्गबहादुर शाहीले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भवन निर्माणसँगै आवश्यक जनशक्ति, औषधि, उपकरण र नियमित सेवा सञ्चालनमा ध्यान दिनुपर्नेमा जोड दिए।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले अस्पताललाई १० शय्याको क्षमताअनुसार सञ्चालन गर्न दक्ष जनशक्ति, औषधि र उपकरण उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए। अस्पताल व्यवस्थापन समिति र गाउँपालिकाले आवश्यक चिकित्सक, औषधि तथा उपकरणको माग गरे प्रदेश सरकारले उपलब्ध गराउन पहल गर्ने उनको भनाइ थियो। अस्पतालको सेवा प्रभावकारी बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक मन्त्रीको भनाई छ ।

रिउस प्राथमिक अस्पतालको सफलता उद्घाटन समारोहमा उपस्थित अतिथिको संख्या, भवनको आकार वा निर्माणमा खर्च भएको रकमले मात्र मापन हुने छैन। अस्पतालले बिरामीलाई कति सहज रूपमा उपचार दिन सक्यो, गर्भवती महिलाले सुरक्षित प्रसूति सेवा कति सजिलै पाइन्, आकस्मिक बिरामीले समयमै उपचार पाए कि पाएनन् भन्ने कुराले यसको वास्तविक उपलब्धता निर्धारण गर्नेछ। उर्गिन लामाङजस्ता नागरिकले जटिल स्वास्थ्य समस्या हुँदा चार घण्टा पैदल हिँडेर गमगढी पुग्नुपर्ने बाध्यता अन्त्य हुनु नै यो अस्पताल निर्माणको सार्थकता हुनेछ।

अध्यक्ष उपाध्यक्षद्धारा आभार ब्यक्त
मुगुम कार्मारोङ गाउपालिका अध्यक्ष उपाध्यक्षले अस्पताल निर्माण प्रकृया सम्पन्न भई संचालनमा आएका हुदा खुशी ब्यक्त गरेका छन । गाउपालिका संचालनमा आएको लामो समय पछि  अस्पातल बनेपछि सिंगो कार्मारोङबासीलाई औषधि उपचारमा सहज हुने अध्यक्ष,उपाध्यक्षको भनाई छ । वडान १ देखि ९ सम्मका स्थानीयबासीलाई औषधि उपचारमा सहज हुने अध्यक्ष छिरिङक्याप्ने लामाको भनाई छ । अध्यक्ष लामाले अस्पताल उदघाटन प्रमुख अतिथिको रुपमा सहभागी हुने प्रदेश सरकार मुख्यमन्त्री, संघीय प्रतिनिधसभा सदस्य प्रदेश सामाजिक बिकास मन्त्री   लगायतलाई धन्यबाद प्रदान गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार