काठमाडौ —कर्णाली प्रदेशको महत्वपूर्ण कर्णाली करिडोर सडकको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय ठेक्का सम्झौता गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार लामो समयदेखि बहुवर्षीय ठेक्का स्वीकृति र बजेट अभावका कारण निर्माण कार्य अघि बढ्न नसकेको उक्त सडक खण्डको स्तरोन्नति तथा कालोपत्रेका लागि कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको छ ।
योजना अन्तर्गत कुल ४१ किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नति गरिनेछ। जस अनुसार तुम्चदेखि सलिसल्लासम्म १३ किलोमिटर, खुलालुदेखि कोटसम्म १३ किलोमिटर र भुक्काखोलादेखि पिलिचौरसम्म १५ किलोमिटर सडक स्तरोन्नति गरिने मन्त्री लम्सालले जानकारी दिएका छन्।
ठेक्का सम्झौतासँगै लामो समयदेखि अलपत्रजस्तै रहेको कर्णाली करिडोरको उक्त खण्डमा निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ। सडक स्तरोन्नति र कालोपत्रे भएपछि स्थानीय नागरिकको आवागमन सहज हुनुका साथै सामान ढुवानी, पर्यटन प्रवद्र्धन तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
कर्णालीका सपना, अब हाम्रो सपना’ भन्ने प्रतिबद्धतासहित प्रदेश सरकारले कर्णाली करिडोरको निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको मन्त्री लम्सालले जनाएका छन ।
४१ किलोमिटर सडकको स्तरोन्नति तथा कालोपत्रे सम्पन्न भएपछि कर्णाली करिडोरको दक्षिण खण्डमा यातायात सेवा थप सहज हुने र यसले समग्र कर्णालीको विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।