काठमाडौ —कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सवमा चम्फा नाच प्रदर्शन गरिएको छ । नेपाल पर्यटन बोर्डको संयोजनमा कर्णाली कलाकार प्रतिष्ठान काठमाडौ नरहरिनाथ गाउपालिका कालिकोटको आयोजना शनिबार काठमाडौ स्थित पुलिस क्लवमा संचालन गरिएको कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सवमा मुगुका महिलाहरुले परम्परागत लोपन्मुख चम्फा नाच प्रर्दशन गरेका छन ।
महोत्सवमा प्रदर्शन गरिएको अन्य सांस्कृति भन्दा चम्फा नाच फरक देखिएको थियो बिशेष गरेर कर्णाली क्षेत्रको पुरानो सांस्कृतिलाई जर्गेना गर्न र सम्बन्धित निकायको ध्यानआक्र्रषण गर्न महोत्सवमा मुगुको तर्फ बाट चम्फा नाच प्रदर्शन गरिएको नेपाल कला सांस्कृतिक प्रतिष्ठानमा उपाध्यक्ष महेन्द्र मल्लको भनाई छ ।
चम्फा नाच भनेको के हो
भौगोलिक रूपमा विकट तर सांस्कृतिक रूपमा अथाह धनी कर्णाली क्षेत्रको मौलिक पहिचान बोकेको रैथाने ‘चम्फा नाच’ (बालो चम्फा) पछिल्लो समय संकटमा पर्न थालेको छ । आधुनिकताको तीव्र प्रभाव, पश्चिमेली संस्कृतिको नक्कल र नयाँ पुस्ताको बेवास्ताका कारण खस सभ्यता र संस्कृतिसँग जोडिएको यो ऐतिहासिक नाच गाउँघरबाटै ओझेलमा पर्न थालेको हो ।
कर्णालीका जुम्ला, मुगु, कालिकोट लगायतका जिल्लाहरूमा विशेष गरी विवाह, व्रतबन्ध र शुभकार्यका अवसरमा रातभर ‘चाँड्ची’ (फाक) खेल्ने परम्परा छ । सोही अवसरमा प्रस्तुत गरिने चम्फा नाच यस क्षेत्रको विशिष्ट सांस्कृतिक विशेषता हो
यस नाचमा डोकोलाई दुलही झैँ महिलाको कपडा, चोली र परम्परागत गरगहना सजाइन्छ, जसलाई स्थानीय भाषामा ‘चम्फा’ भनिन्छ ।
महिलाहरूले कुचो वा अन्य वस्तुलाई गहना लगाएर ‘बालो’ बनाई हातमा नचाउने गर्छन् भने पुरुषहरूले चाल्नो (अन्न छान्ने साधन) मा गिलो पिठोको नाक, मुख र आँखा बनाएर मुखौटो (बाक्टे) लगाई कलात्मक रूपमा प्रस्तुत हुने गर्दछन् ।
कर्णालीको जनजीवन, लोककथा र पौराणिक देवीदेवताका गाथाहरूलाई गीतको शैलीमा गाउँदै बाजाको तालमा नचाउने यो परम्पराले सामाजिक एकता र मेलमिलापको बलियो सन्देश दिने गर्छ ।
तर, पछिल्लो समय सूचना र प्रविधिको विकाससँगै गाउँ–गाउँमा भित्रिएको सहरी संस्कृति, भड्किलो जगमगाउँदो डिजे बाजा र आधुनिक गीत–संगीतका कारण यो पुख्र्यौली संस्कृति ओझेलमा परेको छ । पहिले गाउँमा विवाह वा उत्सव हुँदा रातभर मागल, झोडा, हुड्के र चम्फा नाचको रौनक हुन्थ्यो महेन्द्र मल्ल भन्छन् अहिलेका युवापुस्तालाई चम्फा नाच भनेको के हो र यो कसरी बनाइन्छ भन्ने समेत थाहा हुन छाडिसक्यो ।
खस भाषाको उद्गमस्थल र नेपाली संस्कृतिको जग मानिने कर्णालीमा चम्फा नाच मात्र होइन, धान रोपाइँका बेला गाइने मागल, धारु, छैटी, झोडा र आरती जस्ता अमूर्त सांस्कृतिक धरोहरहरू पनि लोपोन्मुख अवस्थामा पुगेका छन् ।
चम्फा नाच संरक्षणको लागि स्थानीय सरकार, सांस्कृतिक संघसंस्था र पर्यटन सरोकारवालाहरूले बेलैमा कदम चाल्नुपर्ने देखिन्छ । चम्फा नाच जस्ता दुर्लभ रैथाने कलालाई अनिवार्य स्थान दिने र नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्ने कार्यक्रमहरू सञ्चालन आबश्यक देखिएको कलाकारहरुको भनाई छ ।