मुगु—समुद्री सतह देखि करिब ३३ सय मिटरको उचाईमा अवस्थित मुगुम कार्मारोङ गाउँपालिकाको मुगु गाउँ जिल्लाकै दुर्गम, अनौठो र संघर्षपूर्ण मानव बस्तीहरू मध्ये एक हो ।
भौगोलिक र प्राकृतिक रूपमा विकट तर सांस्कृतिक र ऐतिहासिक रूपमा धनी यो गाउँलाई नेपालको चिसो मरुभूमिमा रहेको मानव बस्तीका रूपमा पनि परिचित छ । मुगु गाउँको सबैभन्दा ठूलो विशेषता भनेको यसको भौगोलिक बनावट हो । चारैतिर अग्ला हिमाल र बीचमा सललल बग्दै गरेको मुगु कर्णाली नदी । उक्त कर्णाली नदी तिब्बत बाट बगेर आउने गरेको छ ।
चिसो मरुभूमि यहाँका डाँडाकाँडाहरू रूख–बिरुवा विहीन, फुस्रा र नाङ्गा छन । हेर्दा मरुभूमि जस्तो देखिने यो ठाउँमा हिउँदमा अत्यधिक चिसो र हिमपात हुन्छ भने खडेरीको समयमा सुक्खा हिमाल देखिने गरेका छन ।
समुद्री सतह देखि ३३ सय मिटरको उचाइमा पातलो हावा र अक्सिजनको कमीका कारण यहाँको जनजीवन सामान्य अवस्थाको भन्दा निकै कष्टकर छ ।
भौगोलिक विकटताले गर्दा यहाँ परम्परागत खेतीपाती असम्भव प्रायः छ ।
अनाज फल्दैनः यहाँ धान, गहुँ वा मकै जस्ता मुख्य खाद्यान्न बालीहरू फल्दैनन् । माटोको उर्वराशक्ति न्यून हुनु र चिसो मौसमका कारण खेतीपाती गरेर वर्षभरि खाने अन्न उब्जाउन सकिदैन । अन्न नफल्ने भएकाले यहाँका मुगु गाउ“का करिव १२० परिवारहरु खाद्यान्नका लागि पूर्ण रूपमा तल्लो क्षेत्र वा पूलु, छाइल, गमगढी बजार बाट खाद्य बस्तु लिएर खाने चलन छ ।
मुगु गाउँका स्थानीयलाई खरिद भन्दा ढुवानी भाडादरको बढी मार खेप्नु परेको छ । गमगढी बजारमा एक प्याक चामलको खरिद मुल्य २५ सय पर्ने गरेको छ भने उक्त चामल मुगु गाउँ सम्म ढुवानी गर्न ४५ सय मुल्य पर्ने गरेको स्थानीयको भनाई छ ।खेतीपाती नहुने भएपछि यहाँका स्थानीय बासिन्दाहरूको जीवनयापनको मुख्य स्रोत नै जडिबुटी संकलन हो । यार्सागुम्बा र बहुमूल्य जडिबुटीः जेठ–असारको महिनामा यहाँका प्रायः सबै स्थानीय घरको ढोका नै बन्द गरेर पाटनहरूतिर उक्लिने गरेका छन ।
यार्सागुम्बा, पाँचऔंले, कटुकी, भोल्ते जस्ता बहुमूल्य जडिबुटीहरू संकलन गरेर उनीहरूले वर्षभरिको आम्दानी जुटाउँने गरेका छन । वर्षको केही महिना संकलन गरिने जडिबुटी बेचबिखन गरेर प्राप्त हुने रकमबाट नै उनीहरूले खाद्यान्न, कपडा र अन्य दैनिक उपभोग्य वस्तुहरू खरिद गरेर जीवन निर्बाह गर्दै आएका छन ।
मुगु गाउँ नेपाल–चीन (तिब्बत) सीमाना नजिकै रहेकाले यहाँको व्यापारिक सम्बन्ध परापूर्व कालदेखि नै तिब्बतसँग जोडिएको छ । सडक सञ्जालको सहज पहुँच नहुँदा यहाँका बासिन्दाहरू खाद्यान्न, लत्ताकपडा, चिनियाँ सामान र नुन लिन नाक्चेनाडंला नाका हुदै तिब्बती हाटबजारमा पुगेर समान ल्याउने गरेका छन ।
मुगु तिब्बती नाका पनि बर्षमा १५ दिन मात्र खोल्ने अनी बन्द हुने गरेको छ । नाका खोलेको मौका छोपेर स्थानीय धमाधम खाद्य बस्तु आयात गर्ने गरेका छन ।
सामान ओसारपसारका लागि तिब्बती नाकासम्म पुग्न चौंरी,र खच्चडहरूको प्रयोग गरिन्छ। तिब्बतसँगको यो व्यापारिक सम्बन्ध मुगु गाउँको अस्तित्व जोगाइराख्ने बलियो कडी हो।
कठिन परिस्थितिमा पनि यहाँका बासिन्दाहरूले आफ्नो छुट्टै पहिचान र संस्कृति जोगाएर राखेका छन् । बौद्ध संस्कृति र भोटे समुदायः यहाँ मुख्य रूपमा लामा वा भोटे समुदायको बसोबास छ। तिब्बती बौद्ध संस्कृतिबाट प्रभावित यहाँका मानिसहरूको आफ्नै भेषभूषा, भाषा र रहनसहन छ ।
गाउँमा रहेका ऐतिहासिक गुम्बाहरूले उनीहरूको धार्मिक आस्था झल्काउँछन् । हिउँदको समयमा (मंसिरदेखि फागुनसम्म) यहाँ अत्यधिक हिउँ पर्ने र तापक्रम माइनसमा जाने भएकाले मुगु गाउँ सुनसान बन्छ। स्थानीय बासिन्दाहरू आफ्ना चौपाया र सरसामानसहित जाडो छल्न मुगुको तल्लो क्षेत्र वा गमगढी, नेपालगन्ज र काठमाडौंसम्म झर्ने गर्छन्। वसन्त ऋतु सुरु भएपछि मात्र उनीहरू पुनः गाउँ फर्कन्छन्।
मुगुम कार्मारोङको मुगु गाउँ मानव दृढता र संघर्षको एउटा उत्कृष्ट उदाहरण हो। अन्नको एउटा गेडो नफल्ने उजाड मरुभूमि जस्तो ठाउँमा पनि जडिबुटीको जग र तिब्बत व्यापारको सहारामा उनीहरूले सदियौंदेखि आफ्नो बस्ती जोगाएर बस्न बाध्य छन ।आफ्नो मौलिक संस्कृतिलाई पनि जीवित राखेका छन् । राज्यको नजरबाट अझै पनि केही टाढा रहेको यो क्षेत्र पर्यटकीय र सांस्कृतिक दृष्टिकोणले भने नेपालकै उत्कृष्ट रमणीय छ ।