शनिबार पशुपति क्षेत्रमा बागमती नदीको फोहोर संकलन गर्दै अभियान्ताहरु । तस्विर चक्रबहादुर चन्द
काठमाडौ — राष्ट्रका लागि हप्ताको २ घन्टा स्वयंसेवा” भन्ने मूल नारासहित सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियान अन्तर्गत आज ६६६औँ शृङ्खला सम्पन्न भएको छ । नदी तथा किनार क्षेत्रबाट करिव ६ ट्रक नकुहिने फोहोर संकलन गरी करिब १८ मेट्रिक टन फोहोर महानगरपालिकाको गाडी मार्फत व्यवस्थापन गरिएको छ .। भोलि फागुन ३ गते मनाइने महाशिवरात्री पर्वको तयारीस्वरूप पशुपति आर्यघाट क्षेत्रको वाग्मती नदी तथा किनारमा विशेष सरसफाइ कार्यक्रम आयोजना गरिएको अभियान्ता चक्रबहादुर चन्दले जानकारी गराउनु भयो ।
कार्यक्रममा पशुपति विकास कोषका सदस्य रामेश्वर संगत सहित कर्मचारीहरू, काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईज् टेकु कार्यालय प्रमुख मीनबहादुर थापा सहितका कर्मचारीहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका खगेन्द्र बिष्ट सहित कर्मचारीहरू, वडा नं. ११ का वडा अध्यक्ष हिरालाल तन्डुकार वडा नं. ८ का जनप्रतिनिधिहरू तथा वाग्मती सफाइ महाअभियानका अभियन्ताहरूको सहभागीता रहेको थियो ।
अभियानका संयोजकहरूले सहयोग गर्ने सबै निकाय, स्वयंसेवक तथा महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दै महाशिवरात्रीजस्ता राष्ट्रिय तथा धार्मिक पर्वहरू स्वच्छ, सफा र सभ्य वातावरणमा मनाउन सबै नागरिकलाई स्वयंसेवामा जोडिन आग्रह गरेका छन । वाग्मती सफाई महाअभियान विगतका वर्षहरूदेखि निरन्तर सञ्चालन हुँदै आएको चन्दको भनाई रहेको छ ।