काठमाडौं — काठमाडौं उपत्यकामा दिनभर वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। सडकमा पानी जम्दा पैदलयात्री तथा सार्वजनिक यातायात सञ्चालनमा कठिनाई उत्पन्न भएको छ। मुख्य तथा भित्री सडकहरूमा सवारीसाधनको चाप र पानी जम्ने समस्याका कारण दैनिक आवतजावत समेत प्रभावित भएको छ।
बिहानैदेखि आकाशमा बाक्लो बादल लाग्नुका साथै समय-समयमा भइरहेको वर्षाका कारण उपत्यकाको तापक्रममा पनि गिरावट आएको छ। मौसममा आएको यो फेरबदलसँगै चिसो बढेको महसुस गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ। लगातारको वर्षाका कारण नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।