आइतवार, कार्तिक २३, २०८३
आइतवार, कार्तिक २३, २०८३
  • होमपेज
  • News
  • तिहारमा भाइलाई फूलमाला दिदीबहिनीको उनिएको प्रेम आस्था

तिहारमा भाइलाई फूलमाला दिदीबहिनीको उनिएको प्रेम आस्था

  • आइतवार, कार्तिक २३, २०८३
तिहारमा भाइलाई फूलमाला दिदीबहिनीको उनिएको प्रेम आस्था

काठमाडौ —मखमलीको नओइलाउने माया, सयपत्रीको सुनौलो उमङ्ग र गोदावरीको शान्त सौन्दर्य। तिहारमा दिदीबहिनीले दाजुभाइको गलामा पहि¥याउने यी फूलका माला केवल सजावटका सामग्री होइनन्, नेपाली समाजको मौलिक संस्कृति, धार्मिक विश्वास, पारिवारिक आत्मीयता र दीर्घायुको कामनाका जीवन्त प्रतीक हुन्।

तिहारको बिहान। आँगनमा लिपपोत गरिएको छ। घरको ढोकामा सयपत्री र मखमलीका फूलले बनेका माला झुन्डिएका छन्। कतै फूलका थुँगा टिपिँदै छन्, कतै धागोमा फूल उन्दै दिदीबहिनीहरू व्यस्त छन्। घरको एउटा कुनामा रातो टीका, अक्षता, ओखर, मखाना, मिठाई र फूलका थाली सजाएर राखिएका छन्। वातावरणमा दियोको उज्यालो, धूपको सुगन्ध र देउसीभैलोको मधुर धुन मिसिएको छ।

यही दृश्यले तिहारको आत्मालाई जीवन्त बनाउँछ। विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको गलामा पहि¥याउने मखमली, सयपत्री र गोदावरीका माला नेपाली सांस्कृतिक परम्पराका सुन्दर विम्ब हुन्। यी मालाभित्र केवल फूलको सुगन्ध र रङ मात्र हुँदैन, त्यहाँ दिदीबहिनीको माया, भाइको दीर्घायुको कामना, पारिवारिक सम्बन्धको न्यानोपन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक चेतना उनिएको हुन्छ।

मखमली माला
तिहारमा भाइटीकाको प्रसङ्ग आउनासाथ सबैभन्दा पहिले सम्झिने फूल हो मखमली। मखमलीको विशेषता नै यसको लामो समयसम्म ताजा देखिइरहने क्षमता हो। अन्य फूलको तुलनामा मखमली चाँडै नओइलाउने भएकाले यसलाई दाजुभाइप्रतिको कहिल्यै नघट्ने माया र आत्मीयताको प्रतीकका रूपमा लिइन्छ।

मखमली फूलको गाढा रङ, नरम बनावट र आकर्षक स्वरूपले मालालाई विशेष सौन्दर्य प्रदान गर्छ। त्यसैले भाइटीकाका दिन दाजुभाइको गलामा मखमलीको माला लगाइदिँदा दिदीबहिनीले उनीहरूको जीवन पनि मखमली फूलझैँ दीर्घ, सुखमय र प्रेमपूर्ण रहोस् भन्ने कामना गरेको सांस्कृतिक अर्थ जोडिन्छ।

मखमलीको माला लगाइदिँदा दिदीबहिनीका आँखामा देखिने खुसी र दाजुभाइको अनुहारमा झल्किने मुस्कानले सम्बन्धको गहिराइ बोलिरहेको हुन्छ। टाढा रहेका दाजुभाइलाई घर बोलाएर माला लगाइदिने परम्पराले पारिवारिक भेटघाट र पुनर्मिलनको अवसरसमेत सिर्जना गर्छ।

मखमली फूलको महत्त्व केवल यसको सौन्दर्यमा सीमित छैन। यसले समय र परिस्थितिसँगै नओइलाउने सम्बन्धको सन्देश पनि दिन्छ। जीवनमा जतिसुकै उतारचढाव आए पनि दाजुभाइ र दिदीबहिनीबीचको माया र सद्भाव सधैँ कायम रहोस् भन्ने कामना यसले अभिव्यक्त गर्छ।

सयपत्री माला
तिहारलाई फूलको पर्व बनाउने प्रमुख फूल हो सयपत्री। पहेँलो र सुन्तला रङमा फुल्ने सयपत्रीले तिहारको वातावरणलाई उल्लासमय र आकर्षक बनाउँछ। घरका ढोका, झ्याल, आँगन, मन्दिर र पूजास्थलदेखि भाइटीकाको थालीसम्म सयपत्री माला

सयपत्रीको रङलाई उत्साह, ऊर्जा, शुभता र समृद्धिसँग जोडेर हेर्ने गरिन्छ। यसको चम्किलो पहेँलो रङले सूर्यको प्रकाश र जीवनको सकारात्मक ऊर्जाको झल्को दिन्छ भने सुन्तला रङले उत्सव र उल्लासको अनुभूति गराउँछ।

धार्मिक दृष्टिले पनि सयपत्रीको विशेष स्थान छ। भाइटीकाका दिन सयपत्रीलाई मखमलीसँग मिसाएर माला बनाउने चलन छ। दाजुभाइको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मकता छाओस् भन्ने शुभेच्छा व्यक्त गर्छ।

गोदावरी माला
मखमली र सयपत्रीसँगै गोदावरी फूलले पनि तिहारको सौन्दर्यमा विशेष योगदान पु¥याउँछ। सेतो, पहेँलो, गुलाबी र अन्य आकर्षक रङमा फुल्ने गोदावरीलाई सौन्दर्य, शान्ति, पवित्रता र धैर्यको प्रतीकका रूपमा लिने गरिन्छ।

गोदावरी फूलको बनावट अन्य फूलभन्दा केही फरक र आकर्षक हुन्छ। पत्रैपत्रले बनेको यसको स्वरूपले मालालाई कलात्मक र विशिष्ट बनाउँछ। विशेषगरी फूलको सजावट र भाइटीकाका मालामा गोदावरी मिसाउँदा त्यसले छुट्टै सौन्दर्य थप्छ।

गोदावरी फूलको सांस्कृतिक अर्थ पनि गहिरो छ। यसको लामो समयसम्म टिकिरहने प्रकृति र शान्त सौन्दर्यलाई जीवनमा धैर्य, स्थिरता र सन्तुलनको सन्देशसँग जोडेर हेर्न सकिन्छ। भाइटीकामा यसको प्रयोगले दाजुभाइको जीवनमा सुख, शान्ति, आरोग्य र निरन्तर प्रगतिको कामना अभिव्यक्त गर्छ।

फूलको मालामा उनिएको भाइबहिनीको सम्बन्ध
भाइटीका नेपाली समाजमा दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई सम्मान र आत्मीयताका साथ मनाइने विशेष पर्व हो। पौराणिक मान्यताअनुसार यमराज र यमुनाको कथासँग यस पर्वको सम्बन्ध जोडिएको छ। यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाई माला पहि¥याएर दीर्घायुको कामना गरेको प्रसङ्ग भाइटीकाको सांस्कृतिक आधारका रूपमा स्मरण गरिन्छ।

यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाउने, फूलको माला पहि¥याउने र मिठाई तथा परिकार खुवाउने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्छन्।

फूल खेतीदेखि बजारसम्म
तिहार फूलको सौन्दर्यसँगै नेपाली किसानको श्रम र पसिनासँग पनि जोडिएको पर्व हो। मखमली, सयपत्री र गोदावरीको माग तिहारको समयमा उल्लेखनीय रूपमा बढ्छ। यसले फूलखेती गर्ने किसान, नर्सरी सञ्चालक, माला बनाउने श्रमिक तथा स्थानीय व्यापारीलाई आर्थिक अवसर प्रदान गर्छ।

चर्चामा

सम्बन्धित समाचार