काठमाडौ —नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलमा आज जनकपुर बोल्ट्सलाई २७ रनले हराउदै सुदूरपश्चिम रोयल्सले जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १८.४ ओभरमा ९३ रनमै समेटियो ।जनकपुरका लागि तृतराज दासले २९ बलमा एक छक्काको मद्दतमा २१ रन बनाए । जिम्मी निशमले २५ बलमा एक चौका र एक छक्कासहित २० तथा आदित्य महताले ११ बलमा एक छक्कासहित १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जनकपुरलाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेनले ३ विकेट लिए । हेमन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले समान एक विकेट हात पारे ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । टोलीका ब्रान्डन म्याकमलेनले २३ बलमा २ छक्का र २ चौकासहित सर्वाधिक ३३ रन जोडे । थरिन्दु रत्नायकेले २८ बलमा २ छक्का र एक चौकाको मद्दतमा २७ रन बनाए ।
जनकपुरका कप्तान हर्मित सिंहले ४ विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान एक विकेट लिए ।यस जितसँगै ६ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।