काठमाडौ —बिहानको चहलपहल बढ्दै जान्छ। हनुमानढोका दरबार क्षेत्रका मठ मन्दिरहरुमा पूजा आराधना सुरु हुन्छ । ठिक बिहान ९ बजे भने त्यहाँको वातावरणमा एउटा विशिष्ट ध्वनि गुञ्जिन्छ । एक पटक होइन, १०८ पटक बजाइने यो घण्टको आवाजले काठमाडौंको प्राचीन धार्मिक परम्परा र इतिहासलाई वर्तमानसँग जोडिरहेको छ ।
काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको यो विशाल घण्ट केवल पूजा आराधनामा बजाइने धार्मिक सामग्री मात्र होइन। यो पुरानो राजदरबारको जीवनशैली, समयको संकेत, नेवार सभ्यता र परम्परागत धातुकलाको इतिहास बोकेको घण्ट हो ।
घण्ट बाधक बालकृष्ण महर्जनका अनुसार बिहान ९ बजेपछि घण्ट १०८ पटक बजाउने गरिन्छ। यो घण्ट बजेपछि तलेजु भवानीको मन्दिरमा पुजा सुरु हुने गरेको उनको भनाई छ ।
उनी एक घण्टा अगाडी नै आएर घण्ट वरिपरिको सरसफाई गर्ने गरेका छन । ९ बजेपछि महर्जनले घण्टको तलतिर रहेको डोरी समातेर १०८ पटक बजाउने गरेका छन । आफू बाहेक अरु कसैले बजाउने नपाइने उनको भनाई छ । यो घण्टको ध्वनिले हनुमानढोका क्षेत्रको नियमित सांस्कृतिक दृश्य बनेको उनको भनाई छ ।
काठमाडौं उपत्यकाको सांस्कृतिक अध्ययन लगायतका ऐतिहासिक विवरणमा यस घण्टलाई तलेजु भवानीको पूजाका लागि राखिएको उल्लेख छ । घण्टसँगै प्रयोग गरिने नगरा पनि दरबार क्षेत्रको धार्मिक परम्परासँग जोडिएको छ
त्यतिबेला अहिलेको जस्तो घडी, मोबाइल वा सञ्चारका साधन थिएनन्। त्यसैले घण्ट र नगरा जस्ता ध्वनि दिने साधनले मानिसलाई निश्चित समय र महत्वपूर्ण घटनाको जानकारी गराउन सहयोग गर्थे।
नेपाली संस्कृतिमा घण्टसम्बन्धी विवरणमा पनि काठमाडौंका पुराना दरबार क्षेत्रमा घण्टको धार्मिक र व्यावहारिक दुवै महत्व रहेको उल्लेख छ। बिहान–बेलुका खाना खाने समयको संकेतका रूपमा घण्ट प्रयोग हुने गरेको ऐतिहासिक जनश्रुतिसमेत पाइन्छ।
यसैले हनुमानढोकाको ठूलो घण्टलाई केवल मन्दिरको पूजासँग सीमित गरेर बुझ्न सकिँदैन। यो तत्कालीन समाजको दैनिक जीवनसँग समेत गाँसिएको थियो।
घण्ट बजाउने परम्पराको मुख्य सम्बन्ध देगु तलेजु मन्दिरको नित्यपूजासँग छ। तलेजु भवानी मल्लकालीन राजाहरूकी इष्टदेवी मानिन्छिन्। दरबारभित्रको धार्मिक जीवनमा देवीको स्थान महत्वपूर्ण रहेकाले उनको आराधनासँग सम्बन्धित गतिविधिमा घण्ट र नगरा बजाउने परम्परा विकसित भएको देखिन्छ ।
घण्ट बाधक महर्जनका अनुसार अहिले पनि बिहान ९ बजेपछि घण्ट १०८ पटक बजाइन्छ। धार्मिक परम्परामा १०८ अंकलाई विशेष महत्वका साथ लिइन्छ। मन्त्रजप, माला र विभिन्न पूजा विधिमा पनि यही संख्याको प्रयोग हुने गरेको छ।
नेवार समुदायको धार्मिक तथा सांस्कृतिक जीवनमा महापूजाको विशेष स्थान छ। घण्ट बाधक महर्जनका अनुसार महापूजाको दिन भने हनुमानढोकाको ठूलो घण्ट बेलुका साढे ६ बजे ३३६ पटक बजाउने गरिन्छ ।
नियमित दिनमा बिहान १०८ पटक बजाइने घण्ट विशेष अवसरमा अझ धेरै पटक बजाइनुले यससँग जोडिएको सांस्कृतिक अभ्यासको विशिष्टता देखाउँछ। महापूजा नेवार समुदायमा आत्मपूजा र आफ्नो जीवनको महत्त्वलाई आत्मसात् गर्ने परम्परासँग सम्बन्धित छ।
नेपालका ऐतिहासिक दरबार क्षेत्रमा रहेका ठूला घण्टहरू तत्कालीन राजाहरूको धार्मिक आस्था, राज्यको प्रतिष्ठा र धातुकलाको विकाससँग सम्बन्धित छन्। काठमाडौं, पाटन र भक्तपुरका दरबार क्षेत्रमा यस्ता घण्ट स्थापना गरिएको इतिहास छ ।