काठमाडौँ —काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पञ्चबलि दिइएको छ। आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा–आराधना गरी पशुबलिसहित दुर्गा भवानीको पूजा गर्ने परम्परा छ।
महानवमीका दिन मङ्गलबार दशैँघर, कोतलगायत राज्यका विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि दिएर दुर्गा भवानीको पूजा–आराधना गरिन्छ। कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलन छ।
यस दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्भागवत एवं देवी स्तोत्र पाठ गर्ने परम्परा पनि छ। घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ।
पशुबलि नदिने तथा शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलको बलि दिएर पूजा गर्ने गर्दछन्।
मार्केण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस पर्वलाई विशेष महत्त्वका साथ लिने गरिन्छ ।