काठमाडौँ —काठमाडौँ उपत्यकामा शरद ऋतुको चिसो सिरटोसागै बडादसैँको बेग्लै रौनकता छाएको छ। दसैँको नवरात्र प्रारम्भ भएसँगै यहाँका ऐतिहासिक एवं धार्मिक शक्तिपीठहरूमा भक्तजनहरूको घुइँचो, पूजाआजाको चहलपहल र घटस्थापनामा उमारिएका पहेँला जमराको बासनाले उपत्यकाको वातावरण भक्तिमय बनेको छ।
बिहानको झिसमिसे उज्यालो नहुँदै काठमाडौँका गल्ली र चोकहरूमा रातो टीका, जमरा, अक्षता र धूप–बत्ती बोकेका दर्शनार्थीहरूको ओहोरदोहोर सुरु हुन्छ।
काठमाडौँको मुटु मानिने हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर परिसरमा दर्शनार्थीहरूको लामो लाइन लागेको छ। वर्षमा एक पटक मात्रै (महानवमीका दिन) सर्वसाधारणका लागि खोलिने तलेजु भवानीको दर्शन गर्न र सर्वसाधारणका दिनहरूमा पनि मन्दिर बाहिरैबाट श्रद्धा अर्पण गर्न हजारौँ भक्तजनहरू घण्टौँसम्म लामबद्ध भएर उभिएका छन्। शक्तिपीठहरूमा आस्थाको महाकुम्भ
तलेजु भवानी मात्र नभई काठमाडौँ उपत्यकाका अन्य प्रसिद्ध शक्तिपीठहरू जस्तै गुह्येश्वरी, भद्रकाली, नक्शाल भगवती शोभा भगवती,मैतीदेवी, दक्षिणकाली, संकटा लगायतका मन्दिरहरूमा दर्शनार्थीको भीड देखिएको छ ।
हातमा अक्षता, पाती, रातो–पहेँलो फूल, बत्ती र जमरा बोकेर मुस्कुराउँदै लाइनमा बसेका भक्तजनहरूमा आफ्ना परिवारको सुख, शान्ति, समृद्धि र आरोग्यको कामना छ। मन्दिर प्राङ्गणहरूमा बजिरहेका मालश्री धुन, घण्टीको ध्वनि, धूप र कपूरको सुगन्धले दसैँको उमङ्गलाई अझ पराकाष्ठामा पु¥याएको छ।
विशेष गरी नवरात्रका नौ दिनसम्म दुर्गा भवानीका नवरूपको पूजापाठ गरिने भएकाले हरेक दिन फरक–फरक शक्तिपीठहरूमा दर्शनार्थीको चाप बढ्ने गर्छ। साना बालबालिकादेखि ज्येष्ठ नागरिकहरूसम्म परम्परागत पहिरनमा सजिएर मन्दिर परिसर पुगेका छन्।
स्थानीय दर्शनार्थीहरूका अनुसार, “दसैँको मुख्य आकर्षण नै शक्तिपीठहरूको भ्रमण र दुर्गा भवानीको आराधना हो। दसैँमा आफ्ना इष्टदेव र भगवतीको दर्शन गर्दा मनमा शान्ति र सकारात्मक ऊर्जा मिल्छ।“
काठमाडौँका गल्ली–गल्लीमा छाएको दसैँको यो चहलपहल र शक्तिपीठहरूमा देखिएको आस्थाको लहरले नेपाली संस्कृति, परम्परा र सामाजिक एकताको प्रष्ट चित्र झल्काउँछ। उपत्यकाभरि छाएको दसैँको यो उत्सवले सम्पूर्ण वातावरणलाई उल्लासमय र भक्तिमय बनाएको छ ।