काठमाडौ —काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै स्वदेशी उत्पादन फुल बिक्रीको लागि स्थान तोकेको छ । स्वदेशी फुललाई प्रोत्साहन थर्दै महानगरले प्लास्टिकजन्य फूलमाला तथा सजावट बिक्रीमा रोक लगाएको छ । महानगरले सुचना जारी गरि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानले उत्पादन गरेका फूल तथा माला बिक्रीका लागि विभिन्न स्थान तोकेको छ ।
महानगरले बानेश्वर तथा शङ्खमूल क्षेत्रमा एनबी सेन्टर, आईप्लेक्स मल, सेल्सबेरी, बिग मार्ट शङ्खमूललगायत स्थान तोकेको छ। त्यस्तै, चाबहिल तथा सिफल क्षेत्रमा सिफल चौर, एसी कम्प्लेक्स, चाबहिल गणेशस्थान तरकारी बजार र केएल टावर अगाडिको क्षेत्रलाई बिक्री केन्द्र बनाइएको छ।
कालिमाटी, कलङ्की तथा स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलङ्की भाटभटेनी र स्वयम्भू धर्मचक्र पार्क तोकिएका छन्। गोङ्गबु, माछापोखरी तथा नयाँ बजार क्षेत्रमा माछापोखरी बुद्ध मल, माछापोखरी गुणस्तर खाल्डो, नयाँ बजार भ्याली कोल्ड स्टोर र गोङ्गबु बिग मार्टमा फूलमाला बिक्री गर्न सकिनेछ।
हाँडीगाउँ, महाराजगञ्ज तथा बालुवाटार क्षेत्रमा हाँडीगाउँस्थित वडा नं. ५ कार्यालय अगाडिको डबली, गणेश मन्दिर डबली, सेल्सबेरी महाराजगञ्ज, बालुवाटार बिग मार्ट र बाँसबारी बिग मार्टलाई बिक्री केन्द्र तोकिएको छ।
सिटी सेन्टर तथा कोर एरियाअन्तर्गत काठमाडौँ मल (सुन्धारा), भृकुटीमण्डप, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल, कमलादी, पुतलीसडक, अनामनगर भाटभटेनी र न्युप्लाजा क्षेत्रमा पनि स्वदेशी फूलमाला बिक्री गर्न सकिने महानगरले जनाएको छ।त्यस्तै, अन्य स्थानमा बत्तीसपुतलीस्थित फोनेक्स टावर, तीनकुने चौर र कोटेश्वर स्मार्टलाई समेत बिक्री केन्द्रका रूपमा तोकिएको छ।